ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद खरीदका लागि आवेदन दिने समय दुई दिन मात्र बाँकी

Share News

काठमाडौंङादी ग्रुप पावरका लिमिटेडले पुस २३ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि अब दुई दिन मात्र बाँकी रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाको आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासन गरेको हो । यस अघि माघ १४ गतेसम्मको अवधि तय गरिएकोमा सो अवधिसम्म माग बमोजिम आवेदन प्राप्त नभएपछि माघ २९ गतेसम्मको अवधि तय गरिएको हो । 

कम्पनीको १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर खरीदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २२५ कित्ता हकप्रद शेयर निष्कासनमा आएको हो ।

यो हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते एक दिन बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा मंसिर १७ गतेसम्म कायम शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै सम्बन्धित शेयरधनीहरुले सिद्धार्थ बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन पाउने व्यवस्था छ । मेरो शेयर अनलाइन समेत यो हकप्रद खरीदका लागि प्रयोग गर्न सकिनेछ । 

कम्पनीले हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपि डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ कायम हुनेछ ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।