नेप्से ७.२६ अंक घट्दा वित्त समूहको शेयरमा लगानीकर्ताको आकर्षण, समूहगत सूचक १.८६ प्रतिशत बढ्यो

Share News

काठमाडौं । दुई कारोबार दिन सामान्य अंक बढेको बजार आज अर्थात् साताको अन्तिम कारोबार दिन बिहीवार ७ दशमलव २६ अंक घटेर बन्द भएको छ ।

यससँगै नेप्से २ हजार ६७८ दशमलव ४७ विन्दुमा झरेको छ । कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ । अघिल्लो कारोबार दिन रू. ८ अर्ब ७१ करोड बराबरको कारोबार भएकोमा आज रू. ७ अर्ब ९२ करोडमा झरेको छ । 

प्राविधिक विश्लेषणमा बिहीवार सानो पुच्छर र लामो टुप्पी भएको रातो क्यान्डल बनेको छ । यसले बजार आगामी दिनमा घट्ने संकेत देखाउँछ । यसो त पछिल्लो चार कारोबार दिनको समग्र क्यान्डल हेर्दा नेप्सेले २ हजार ६७० देखि २ हजार ६८१ को विन्दुमा टेवा पाएर माथि जान खोजेको प्राविधिक विश्लेषक बताउँछन् । 

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ११ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव २६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १३ प्रतिशत घटेको छ । 

आज ३०२ धितोपत्रको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता शेयर ७८ हजार ८३५ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । मातृभूमि लघुवित्त वित्त वित्तीय संस्था, कुमारी सबल योजना र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

मातृभूमि लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४०८, कुमारी सबल योजनाको इकाई मूल्य रू. ९ दशमलव ६८ र गार्डियन माइक्रो लाइफको रू. ४८४ दशमलव ६० पुगेको छ । 

बिहीवार न्यादी हाइड्रोपावरको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७८१ दशमलव २० कायम भएको छ । दोस्रोमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४ दशमलव ९० प्रतिशत घटेसर रू. २ हजार ३०८ मा झरेको छ । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ । यस कम्पनीको रू. ३४ करोड १४ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४१५ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सिईडिबि होल्डिङ्स छ । कम्पनीको रू. २६ करोड ८९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका १३ समूहगत सूचकमध्ये तीन समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी १ दशलमव ८६ प्रतिशत वृद्धि भएको छ भने विकास बैंक समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ९५ प्रतिशत घटेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।