विन नेपाल लघुवित्तले पायो एफपीओ निष्कासन गर्ने अनुमति

Share News

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले माघ ३० गते ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको ५१ लाख २९२ दशमलव ५० कित्ता एफपीओ जारी गर्न कम्पनीलाई अनुमति दिएको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एफपीओ जारी गर्न कम्पनीले अनुमति पाएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले सर्वसाधारणमा एफपीओ जारी गर्नेछ ।

एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार रुपैयाँ छ । एफपीओपछि कम्पनीको चुक्तापूँजी ८ करोड ४३ लाख ४० हजार रुपैयाँ कायम हुनेछ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यो कम्पनी १ करोड २४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । यस वर्ष कम्पनीको निष्क्रिय कर्जा बढेर ६ दशमलव २३ प्रतिशत कायम भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ६१ प्रतिशत थियो ।

दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष ६९ लाख ४७ हजार रुपैयाँ ऋणात्मक छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर मूल्य भने प्रतिकित्ता २ हजार २०० रुपैयाँभन्दा माथि छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।