चिनियाँ लसुनको भारत तस्करी किन बढ्यो ?

Share News

विराटनगर । लसुनमा प्रतिकिलो १०० रुपैयाँसम्म नाफा हुने भएपछि चीनबाट बढी परिमाणमा नेपाल ल्याएर भारततर्फ तस्करी हुने गरेको देखिएको छ । सीमावर्ती भारतीय बजार जोगबनीको गुद्री बजारमा रहेको सब्जीमण्डीमा गत बिहीवार लसुनको तीन भेराइटीको फरकफरक मूल्य रहेको स्थानीय व्यापारी जगदीश साहले बताए । 

आफ्नो पसलबाट किलोको १०० देखि ३०० नेपाली रुपैयाँसम्ममा लसुन विक्री गरिरहेको उनले जानकारी दिए । नयाँ स्थानीय लसुन १०० रुपैयाँमा, सानो पोटी तर सुकेको २०० रुपैयाँ र ठूलो पोटी तथा ठूलो केस्रा भएको ३०० रुपैयाँ किलोमा विक्री भएको उनले बताए । 

कुन देशबाट आएको लसुन भन्ने थाहा नपाए पनि आफूले डिलरबाट किनेर खुद्रा विक्री गर्ने गरेको उनले सुनाए । चिनियाँ लसुन ठूला पोटीको हुन्छ । नेपाली बजारमा चिनियाँ लसुनको मूल्य प्रतिकिलो २०० रुपैयाँ छ । सीमावर्ती भारतीय बजार पुर्याउँदा प्रतिकिलो १०० रुपैयाँ फाइदा हुने भएपछि चिनियाँ लसुनको भारत तस्करी बढेको सीमावर्ती क्षेत्रका नेपाली व्यापारी बताउँछन् ।

भारतमा लसुन उत्पादन घटेपछि यसको भाउ आकाशिएको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अघिल्लो सिजनमा भारतका किसानले लसुन खेती कम गर्नाले उत्पादन घटेको हो । लसुन उत्पादन हुने मुख्य राज्यहरू गु्जरात, राजस्थान, मध्य प्रदेश र पञ्जाबका किसानले विगत वर्षहरूमा लसुनको उचित मूल्य नपाएको भन्दै अन्य उत्पादनमा हात हालेपछि उत्पादनमा असर परेको हो । 

यसबाहेक भारतमा सुक्खा लागेर लसुन रोप्ने र बाली भित्त्याउने चक्रमा असर गरेकाले पनि गत सिजनमा उत्पादन प्रभावित भएको हो । यसले गर्दा गत डिसेम्बरमा लसुनको भाउ प्रतिकिलो ५०० भारतीय रुपैयाँसम्म पुगेको थियो । त्यसैले भारतले अफगानिस्तानबाट पनि लसुन आयात गरेको थियो । 

भारतमा रहेको उच्च मूल्यको फाइदा उठाउन नेपाली व्यापारीले चीनबाट ठूलो परिमाणमा लसुन आयात गरी अवैध ढंगले भारत पठाउने गरेको स्थानीय व्यापारी बताउँछन् । 

चालू आर्थिक वर्ष (आव) को पहिलो ६ महीनामा ६ अर्ब १८ करोड ३९ लाख रुपैयाँ बराबरको लसुन नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । गत आवको शुरूको ६ महीनामा ७७ करोड ८७ लाख रुपैयाँको मात्र लसुन भित्रिएको थियो । 

पूरै आवमा २ अर्ब २२ करोड रुपैयाँको लसुन चीनबाट भित्रिएको तथ्यांक छ । त्यसअघि ३ आवमा १ अर्ब रुपैयाँभन्दा केही बढीको मात्र लसुन आयात चीनबाट भएको भन्सार विभागको तथ्यांक छ ।

खुद्रा व्यापार संघ विराटनगरका अध्यक्ष सञ्जय मण्डलले खुला सिमाना भएकाले भारतीय बजारमा कुन वस्तुको अभाव भयो र कुनको मूल्य बढ्यो भनेर हेरिरहेका व्यापारीले मौकामा चौका हान्न समयअनुसारका वस्तु मगाएर अवैध बाटो पारि पुर्याउनु अनौठो नभएको बताए । उनले भने, ‘कहिले सुपारी, कहिले सुकुमेल, कहिले हरियो मटर, कहिले छोकडा तस्करी भएर जादाजाँदै सरकारले रोकेको हो । अघिल्लो वर्ष चाइनिज लाइटरको तस्करी बढेको थियो ।’ त्यसअघि चाइनिज स्याउको तस्करी हुने गरेको उनले बताए । भारतीय बजारलाई लक्ष्य गरेर तस्करहरूले विभिन्न समयमा फरकफरक सामान मगाएर पठाउने गरेका छन् । 

अररियाको फारबेसगञ्जमा रहेका भारतीय पत्रकार पंकज रञ्जितले नेपालबाट यसअघिको सुपारीजस्तै अहिले लसुन तस्करी भइरहेको बताए । उनले भारतीय बजारमा लसुनको भाउ २०० भारतीय रुपैयाँभन्दा माथि पुगेकाले नेपालबाट चिनियाँ लसुन भित्रिएको उल्लेख गरे । चिनियाँ लसुनको पोटी ठूला र केस्रा पनि ठूला भएको कारण स्थानीय लसुनभन्दा राम्रो मूल्य पाउने भएकाले तस्करी भइरहेको र भारतीय प्रहरीले नेपालबाट तस्करी भएर आएको लसुन विभिन्न स्थानमा पक्राउ गरेको कारण तस्करीको पुष्टि भएको उनले बताए ।

हालै नेपालबाट तस्करी भएर भारत गइरहेको लसुन सीमावर्ती भारतीय जिल्ला अररिया, सुपौल र पूर्णियामा समातिएपछि चिनियाँ लसुन नेपाल भएर भारत तस्करी भइरहेको पुष्टि भएको हो । 

यसरी अवैध रूपमा निकासी हुन थालेपछि चिनियाँ लसुन आयातमा नेपालका क्वारेन्टाइन कार्यालयहरूले कडाइ गर्न थालेका छन् । नेपाली सरकारी अधिकारीहरूले यसबारे भारतले हालसम्म चासो व्यक्त नगरेको दाबी गरे पनि नेपालले कडाइ गर्न भने थालेको छ । 

माघको पहिलो साताबाट प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन विभागले बढी लसुन आयात भएको भन्दै नाकाबाटै इन्ट्री रोकेको छ । फलस्वरूप पछिल्लो समय विराटनगर, रसुवा, तातोपानी नाकाबाट चिनियाँ लसुन आयात भएको छैन । विराटनगरको गोयल इन्टरप्राइजेजले आयात गरेको एक कन्टेनर (२९ मेट्रिक टन) लसुन अहिले विराटनगर भन्सारको गोदाममा थन्किएको छ । लसुनको अत्यधिक आयात भएको भन्दै प्लान्ट क्वारेन्टाइन विषादी व्यवस्थापन कार्यालयले इन्ट्री पर्मिट दिन रोक लगाएको छ । 

स्थानीय उत्पादन खपत भएपछि नेपालमा वार्षिक ९ हजार मेट्रिक टन लसुन आवश्यक पर्ने भए पनि यो वर्ष ६ महीनामै ४६ हजार ९०० मेट्रिक टन आयात भएको भन्सार विभागको तथ्यांकले पुष्टि गर्छ । 

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख नन्दकिशोर सिंहले अत्यधिक मात्रामा लसुन आयात भएको र त्यो नेपालको मागभन्दा बढी भएकाले तत्काल रोक्न सचिव स्तरबाटै मौखिक आदेश आएपछि आफूहरूले इन्ट्री रोकेको बताए 

केही दिनअघि आर्थिक अभियानसँगको कुराकानीमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाले भने आवश्यक क्वारेन्टाइनको प्रक्रिया पूरा नगरेको लसुनको कार्गो मात्र रोकिएको दाबी गरेका थिए । 

‘व्यापारीहरूले भन्सारमा सामान आउनुअघि नै क्वारेन्टाइन प्रक्रियाका लागि आवेदन दिनुपर्ने हुन्छ,’ उनले भने, ‘भन्सारमा सामान आइसकेपछि क्वारेन्टाइनका लागि आउने व्यापारीको हकमा भने आयात रोकिएको हो ।’ क्वारेन्टाइन प्रक्रिया पूरा गर्न नसकेका बाहेक अन्य व्यापारीको लसुन नरोकेको उनको भनाइ छ । 

तर, केही दिनयता भारतीय बजारमा लसुनको भाउ निकै घटेको भारतीय सञ्चार माध्यमहरूले बताएका छन्, जसले गर्दा चिनियाँ लसुनको तस्करी रोकिन सक्नेछ । भारतीय पत्रिका दी हिन्दुका अनुसार थोक बजारमा हाल १२० भारतीय रुपैयाँदेखि १५० रुपैयाँ किलोमा लसुन विक्री भइरहेको छ । 

जोगवनीका स्थानीय व्यापारी साहले नयाँ भारतीय लसुन बजारमा आएकाले अब मूल्य थप घट्ने बताए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।