नयाँ दिल्लीको रेल स्टेसनमा भागदौड मच्चिँदा कम्तीमा १८ जनाको मृत्यु

Share News

नयाँ दिल्ली (भारत) । नयाँ दिल्लीको एक रेल स्टेसनमा शनिवार राति भागदौड मच्चिँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा केही व्यक्ति घाइते भएका छन् । 

प्रशासनले मृतक १८ जनाको सनाखत गरिसकेको छ । रेलवेले मृतकका परिवारलाई १० लाख भारु क्षतिपूर्ति दिने घोषणा गरेको छ । यस्तै, गम्भीर घाइतेलाई उपचारका लागि साढे दुई लाख भारु र घाइतेलाई एक लाख रुपैयाँ दिने बताइएको छ । 

अत्यधिक भीडका कारण घटना घटेको हुनसक्ने प्रशासनको अनुमान छ । यद्यपि, घटनाको खास कारण पहिचानका लागि अनुसन्धान भइरहेको छ । 

घटनाका प्रत्यक्षदर्शीले रेलको प्लेटफर्ममा जानका लागि प्रयोग गरिने पैदल पुलबाट भागदौड मच्चिएको बताएका छन् । 

उत्तर रेलवेका प्रवक्ता हिमांशु उपाध्यायले भने, ‘जुन बेला यो घटना घट्यो, त्यो बेला प्लेटफर्म नम्बर १४ मा पटनातर्फ जाने ‘मगध एक्सप्रेस’ तथा प्लेटफर्म नम्बर १५ मा जम्मूतर्फ जाने ‘उत्तर संक्रांति एक्सप्रेस’ रोकिएका थिए ।’

‘यो क्रममा फुट ओभर ब्रिजबाट प्लेटफर्म नम्बर १४ र १५ तर्फ आउन बनाइएका सिढीमा केही यात्रुहरू चिफ्लेर लडेपछि थप यात्रुहरू पनि लडे र यो घटना घट्यो,’ उनले थपे । प्रवक्ता उपाध्यायले उच्चस्तरीय समितिले घटनाको जाँच गरिरहेको बताए । बीबीसी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।