फागुन १८ गतेदेखि एफपीओ निष्कासन गर्दै स्वरोजगार लघुवित्त

Share News

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले फागुन २१ गतेसम्म यो एफपीओ निष्कासनको छिटो अवधि तय गरेको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि चैत ३ गतेसम्म निष्कासनमा रहने जानकारी कम्पनीले दिएको छ । कम्पनीको एफपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यो एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

एफपीओ निष्कासनका लागि गराइएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । 

अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको यस कम्पनीको जारी पूँजी ६९ करोड ६ लाख ८२ हजार रुपैयाँ छ । हाल कम्पनीको चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ छ । एफपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ६९ करोड ६ लाख ८२ हजार रुपैयाँ कायम हुनेछ ।

एफपीओपछि कम्पनीमा संस्थापकतर्फ ५२ दशमलव ७२ प्रतिशत र सर्वसाधारणतर्फ ४७ दशमलव २८ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । यो कम्पनी चालू आर्थिक वर्षको पुस मसान्तसम्म १६ करोड २१ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ २३ पैसा र प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।