नेप्सेसँगै बढ्यो कारोबार रकम, १० अर्ब ४३ करोड बराबरको शेयर कारोबार हुँदा चार धितोपत्रको मूल्य सर्किट लेबलमा वृद्धि

Share News

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार पनि नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ ।  

आज नेप्से ११ दशमलव ९१ अंक बढेर २ हजार ७३९ दशमलव ८२ विन्दुमा पुगेको छ । आजसँगै नेप्से लगातार तीन कारोबार दिन बढेको हो । तीन दिनमा नेप्से ६२ दशलमव ११ अंक बढेको हो । 

अघिल्लो कारोबार दिन रू. १० अर्ब ४ करोड बराबरको कारोबार भएकोमा आज रू. १० करोड ४३ करोडको भएको हो । 

मंगलवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४३ प्रतिशत र फ्लोट इन्डेक्स शून्य दशमलव २२ प्रतिशत वृद्धि भएको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ०५ प्रतिशत घटेको छ । 

३१४ धितोपत्रको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर ९९ हजार ५८५ पटकमा रू. १० अर्ब ४३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र इमर्जिङ्ग नेपालको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएको हो । विन नेपालको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ६ सय दशमलव ९०, गुराँस लघुवित्तको रू. ३ हजार १६९ दशमलव १० र इर्मजिङ्ग नेपालको रू. १ हजार ३५१ दशमलव ९० पुगेको छ । 

मंगलवार दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले घटेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक र १०.८५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ नामक ऋणपत्रको मूल्य १० प्रतिशतका दरले घटेको हो ।

सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १४१ दशमलव ३० र १०.८५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ नामक ऋणपत्रको मूल्य रू. १ हजार ८३ दशमलव ६० मा झरेको छ । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ८२ करोड २ लाख बरावरको कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ९३६ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल रिइन्स्योरेन्स कम्पनीको रू. ५१ करोड ६८ लाख बराबरको भएको हो । 

कारोबारमा आएका १३ समूहगत सूचकमध्ये ६ समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये अन्य समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ६८ प्रतिशत वृद्धि भएको छ भने विकास बैंक समूहको सूचक सबैभन्दा बढी १ दशमलव ७४ प्रतिशत घटेको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।