काठमाडौं । साना तथा मझौला कम्पनीको धितोपत्र कारोबार गर्ने छुट्टै एसएमई प्लेटफर्म निर्माण गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तयारी थालेको छ ।
माघ ३ गतेदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ लागू गरेसँगै साना कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत पूँजी जुटाउने बाटो खुला भएको हो ।
भोलिका दिनमा दोस्रो बजारमा एसएमई कम्पनीहरूको धितोपत्र छुट्टै प्लेटफर्ममार्फत कारोबार हुने व्यवस्थाका लागि नेप्सेले विनियमावली बनाउने तयारी थालेको हो ।
नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले बोर्डले नियमावली लागू गरी कार्यान्वयन गर्न निर्देशन दिएसँगै माघ २५ गते बसेको नेप्से सञ्चालक समिति बैठकले विनियमावली निर्माणका लागि पाँच सदस्यीय कमिटी गठन गरेको जानकारी दिए । उनका अनुसार नेपाल राष्ट्र बैंकबाट नेप्से सञ्चालक समितिमा प्रतिनिधित्व गरेका रोशनकुमार सिग्देलको संयोजकत्वमा पाँच सदस्यीय कमिटी गठन भएको छ ।
उक्त कमिटीले विनियमावलीका लागि आवश्यक ड्राफ्ट तयार गरिरहेको पराजुलीले बताए । साथै प्राविधिक सुधारका विषयमा समेत उक्त कमिटीले आवश्यक व्यवस्थाको खोजी गर्ने भनाइ पराजुलीको छ ।
नेप्सेले हालकै कारोबार प्रणाली मातहत रहने गरी छुट्टै इन्डेक्समार्फत एसएमईहरूको धितोपत्र कारोबार हुने व्यवस्था मिलाउने संकेत उनले गरे ।
‘जसरी अहिले नेप्से कारोबार प्रणालीसँगै जोडिएर म्युचुअल फन्ड र ऋणपत्रको कारोबार भइरहेको छ त्यसरी नै एसएमई कम्पनीको छुट्टै समूहमार्फत कारोबार गराउने व्यवस्था गर्न लागिएको छ,’ पराजुलीले स्पष्ट पारे ।
हाल समूहगत कारोबार नेप्से इन्डेक्समा गणना हुने भए पनि एसएमई कम्पनीको समूहगत कारोबार भने नेप्से इन्डेक्समा गणना नहुने उनले बताए । बोर्डले तयार पारेको नियमावलीमा भएको व्यवस्था नकाट्ने गरी नेप्सेले विनियमावली तयार गर्ने र उक्त विनियमावली स्वीकृत भएपछि आवश्यक प्रणाली विकासका लागि काम हुने समेत उनले जानकारी दिए ।
हाल नेप्सेमा सबै खालका पूँजी भएका कम्पनीलाई एउटै प्लेटफर्ममा राखेर कारोबार गराइँदै आइएको छ, जसका कारण ठूला पूँजीकरण भएका कम्पनीको बजार मूल्यमा सामान्य उतारचढाव हुँदा नेप्से सूचकांकमा ठूलो परिवर्तन हुँदै आएको लगानीकर्ताले औंल्याएका छन् ।
लगानीकर्ता तिलक कोइरालाले एसएमईज प्लेटफर्ममार्फत साना पूँजी भएका कम्पनीलाई धितोपत्र बजारमा भित्रिने वातावरण सहज बनाउनुपर्नेमा जोड दिए । एसएमई प्लेटफर्ममा समान पूँजी भएका कम्पनीको मात्र कारोबार हुने भएकाले कारोबारमा अस्वाभाविक चलखेल नहुने र वास्तविक मूल्य कायम हुने उनले बताए । अन्य मुलुकमा सफल भएको एसएमई कारोबार विधिलाई ध्यानमा राखेर नेपालमा पनि सोही बमोजिम एसएमई प्लेटफर्म सञ्चालनमा ल्याउनुपर्ने धारणा कोइरालाको छ ।
एसएमईज प्लेटफर्ममा सूचीकृत हुने कम्पनीको चुक्तापूँजी आईपीओपछि बढीमा २५ करोड रुपैयाँ हुनुपर्नेछ । तर, साना तथा मझौला संगठित संस्थाको उपस्थिति र बजारको अवस्था हेरी बोर्डले अधिकतम चुक्ता पूँजीको सीमा हेरफेर गर्न सक्ने नियमावलीमा उल्लेख छ । यस्ता कम्पनीले धितोपत्रको सार्वजनिक निष्कासन गर्दा जारी पूँजीको ३० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी गर्नुपर्ने व्यवस्था नियमावलीमा छ ।
एसएमई प्लेटफर्ममा सूचीकृत हुन आउने कम्पनीको आईपीओमा आवेदन दिँदा न्यूनतम ५०० कित्ताको सीमा कायम गरिएको छ । अधिकतम कित्ताको सीमा भने विवरणपत्रमा उल्लेख भएबमोजिम हुनेछ ।
आईपीओ बाँडफाँट गर्दा सर्वप्रथम सबै आवेदकलाई न्यूनतम ५०० कित्ताका दरले बाँडफाँट गर्नुपर्ने हुन्छ । यसरी बाँडफाँट गर्न शेयर अपुग भएमा गोलाप्रथाबाट बाँडफाँट गर्नुपर्नेछ । धितोपत्रको प्राथमिक बजारमा एसएमई प्लेटफर्ममा दर्ता हुने कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम ५०० कित्ताको सीमा कायम गरेबमोजिम एसएमई प्लेटफर्ममा कारोबार गर्नसमेत न्यूनतम ५०० कित्ताकै सीमा लागू हुनेछ ।
धितोपत्र बजार सञ्चालकले एसएमई प्लेटफर्म सञ्चालनका लागि आवश्यक स्वचालित विद्युतीय कारोबार प्रणाली स्थापना गर्नेछ । धितोपत्रको सार्वजनिक निष्कासनमा हाल बुक बिल्डिङ विधिबाट निष्कासनमा आएको धितोपत्र खरीदका लागि न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने हुन्छ भने अन्य विधिका सार्वजनिक निष्कासनका धितोपत्र खरीदका लागि न्यूनतम १० कित्ताको व्यवस्था छ ।
एसएमई प्लेटफर्ममा दर्ता हुने कम्पनीहरूले प्रिमियम मूल्यमा समेत आईपीओ जारी गर्न सक्ने व्यवस्था छ । अंकित मूल्यमै आईपीओ जारी गर्ने कम्पनीको हकमा भने बोर्डको निर्देशन नभएमा क्रेडिट रेटिङ नगरी सार्वजनिक निष्कासन गर्न सक्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।