फागुन २० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दै पियोर इनर्जी

Share News

काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्नेछ । बाँके जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले उक्त आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । 

त्यस्तै कम्पनीले जारी पूँजीको १८ प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो ।

दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशत आरक्षित शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको हो । दुवैतर्फको शेयर खरीदका लागि न्यूनतम १० कित्ता माग गर्न सकिने व्यवस्था छ । अधिकतमका लागि भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले १६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ७ हजार २०० कित्ता माग गर्न सकिने व्यवस्था छ । 

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासनमा आएको आईपीओ छिटोमा चैत ५ गतेसम्म निष्कासनमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा चैत २० गतेसम्म निष्कासन लम्बिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने चैत ५ गतेभित्र आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, नबिल बैंकका कोहलपुर र नेपालगञ्ज शाखा कार्यालय, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगञ्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्यूरोड नेपालगञ्ज र वि पि चोक शाखा कार्यालय तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगञ्ज र रिमझिम बजार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको आईपीओ निष्कासन प्रयोजनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।