काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारका सहभागीहरूलाई लक्षित गरी वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी गरेको छ ।
बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी गरेको हो ।
बोर्डले जारी गरेको मार्गदर्शनअनुसार गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको संयुक्त राष्ट्र संघले प्रतिबन्ध लगाएको सूचीकृत व्यक्ति, समूह वा संगठन कारोबारमा भए नभएको यकिन गर्नुपर्नेछ । यसका लागि नियमित रूपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नुपर्ने व्यवस्था बोर्डले गरेको छ ।
उक्त तथ्याङ्क डेटाबेसको आधारमा कुनै सूचीकृत व्यक्ति, समूह वा संगठन वा सोसँग सम्बद्ध अन्य कुनै व्यक्ति, समूह वा कुनै संगठनको कुनै सम्पत्ति का कोष आफूसँगै रहेको भएमा तत्काल उक्त सम्पत्ति वा कोष रोक्का राख्न बोर्डले मार्गनिर्देश गरेको छ । धितोपत्र बजार सहभागीहरूले आफ्नो कार्य सञ्चालन गर्दा आतङ्ककारी कार्य वा आमविनाशका हातहतियार निर्माण एवम् विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्था पालना गर्नुपर्नेछ ।
साथै आतङ्ककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित शङ्कास्पद व्यक्ति वा सम्बन्धमा वित्तीय जानकारी इकाईमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था बोर्डले जारी गरेको मार्गदर्शनमा छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।