काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ आजदेखि निष्कासन गरेको छ ।
कम्पनीले माघ ८ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरी माघ २९ गते बाँडफाँट गरेको हो । पहिलो चरणको आईपीओ बाँडफाँट सम्पन्न भएसँगै कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कुल कित्ता आईपीओमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँटपश्चात् कम्पनीका कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई समेत १ लाख १२ हजार ५०० कित्ता शेयर समेत बाँडफाँट गरिसकिएको जानकारी कम्पनीले दिएको छ । यी बाहेक बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याइएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीको आईपीओ खरीद गर्न पाइनेछ ।
यो आईपीओ छिटो अवधि फागुन १५ गतेसम्म विक्रीमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन प्राप्त नभएमा भने ढिलो अवधि फागुन २५ गतेसम्म विक्री लम्बिने जानकारी कम्पनीले दिएको छ । पछिल्लो समय आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यो कम्पनीको आईपीओ छिटो अवधि फागुन १५ गतेसम्म मात्र निष्कासनमा रहने निश्चित छ ।
लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरीद माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले कम्पनीको आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाका लागि स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी समेत सहज तरिकाले कम्पनीको आईपीओ खरीद गर्न सकिने व्यवस्था छ ।
कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
केयर रेटिङ नेपालले आईपीओ निष्कासन प्रयोजनका लागि केयर एनपी त्रिपल ए इस्यूअरदेखि केयर एनपी डी सम्मको इस्यूअर रेटिङ प्रदान गर्ने गरेको छ । केयर एनपी त्रिपल ए इस्यूअर रेटिङले वित्तीय दायित्व वहन गर्ने क्षमता बलियो रहेको संकेत गर्दछ भने केयर एनपी डी इस्यूअर रेटिङले वित्तीय दायित्व वहन गर्ने क्षमतामा कमजोर आधार रहेको संकेत गर्दछ ।
कम्पनीको परिचय
लघु निर्जीवन बीमा व्यवसायी कम्पनीको रूपमा यो कम्पनी २०८० वैशाख २६ गतेदेखि सञ्चालनमा रहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा यो कम्पनी २०७९ पुस ८ गते पब्लिक कम्पनीको रूपमा दर्ता भएको थियो । बीमा ऐन २०७९ तथा बीमा नियमावली २०४९ अनुसार कम्पनीले २०७९ चैत २७ गते नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा कम्पनीको लाइसेन्स प्राप्त गरेको थियो ।
यस कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर महानगरपालिका वडा नम्बर १ चितवनमा छ । यस कम्पनीको कारोबार गर्ने मुख्य स्थान गैह्रिधारा, काठमाडौंमा छ भने अन्य ८ शाखा र २ उपशाखा तथा १३ एक्सटेनसन काउण्टरबाट सेवा प्रदान गर्दै आएको छ ।
पूँजीको अवस्था
यस कम्पनीको अधिकृत चुक्ता पूँजी १ अर्ब रुपैयाँ छ भने जारी पूँजी ७५ करोड रुपैयाँ छ । हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ५२ करोड ५० लाख रुपैयाँ छ । कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी पूँजी बमोजिमको रकम सर्वसाधारणमा आईपीओ जारी गरी कायम गर्ने प्रतिवद्धताका साथ लाइसेन्स प्राप्त गरेको थियो । यस आधारमा कम्पनीले सर्वसाधारणमा २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ कायम हुनेछ । आईपीओपछि कम्पनीको पूँजीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व रहनेछ । आईपीओबाट प्राप्त पूँजी कम्पनीले बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा १२ करोड ५० लाख रुपैयाँ, ऋणपत्रमा ६ करोड रुपैयाँ, नागरिक लगानीकोष र म्युचुअल फण्डमा २ करोड ५० लाख रुपैयाँ र शाखा विस्तार तथा भौतिक पूर्वाधारको अभिवृद्धिका लागि १ करोड ५० लाख रुपैयाँ उपयोग गर्ने बताएको छ ।
वित्तीय स्थिति
यो कम्पनी सञ्चालनको करीब दुई वर्ष हुन लागेको छ । अघिल्लो आर्थिक वर्ष ०७९/८० सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी १७ लाख ९९ हजार रुपैयाँ संचित मुनाफामा छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८० पैसा र प्रतिशेयर आम्दानी ८० पैसा छ ।
गत आर्थिक वर्ष ०८०/८१ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ३० लाख ८८ हजार रुपैयाँ संचित नाफामा रहेको छ । यस अवधिसम्म प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी ५६ पैसा कायम छ । चालू आर्थिक वर्ष ०८१/८२ सम्म कम्पनीले ६२ लाख ९ हजार रुपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।
सञ्चालक समिति र उच्च व्यवस्थापन
कम्पनीको नियमावलीमा भएको व्यवस्थाबमोजिम सात जना सञ्चालक रहेको सञ्चालक समिति बन्नेछ । संस्थापकतर्फबाट ४ जना, सर्वसाधारणतर्फबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना गरी सात सदस्यीय सञ्चालक समिति रहने व्यवस्था कम्पनीको नियमावलीमा रहेको छ ।
हाल संस्थापकतर्फ मात्र स्वामित्व रहेको यस कम्पनीमा स्वतन्त्र सञ्चालकसमेत पाँच सदस्यीय सञ्चालक समिति छ । कम्पनीको अध्यक्षमा आशिष श्रेष्ठ छन् । कम्पनीको ८५ हजार कित्ता शेयर स्वामित्व कायम गरेका श्रेष्ठ २०८० फागुन २१ गतेदेखि अध्यक्ष पदमा छन् ।
लियोन ग्रुप नेपालमा कार्यकारी अध्यक्षको रूपमा सन् २००६ देखि कार्यरत श्रेष्ठ क्यापिटल एसेस्ट कम्यूडिटिज लिमिटेडमा सन् २००५ देखि २००६ सम्म कार्यरत थिए ।
कम्पनीको सञ्चालकहरूमा सिद्धान्त झुनझुनवाला, प्रविता दाहाल, लतिका गौयान र बद्री सिग्देल छन् । बद्री सिग्देल भने स्वतन्त्र सञ्चालकका रूपमा रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मृगेन्द्र नाथ रिमाल र नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल गिरी छन् ।
दोस्रो बजारमा पाउने पहिलो कारोबार मूल्य कति ?
प्राथमिक बजारमा लगानीकर्ताहरूले प्रतिकित्ता १०० रुपैयाँमा खरीद गर्न पाउने कम्पनीको आईपीओ दोस्रो बजारमा कारोबारयोग्य भएपछिको मूल्य भने धितोपत्र दोस्रो बजार सञ्चालकले निर्धारण गर्नेछ । हाल नेपालमा एकमात्र धितोपत्र दोस्रो बजार सञ्चालकको रुपमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालनमा रहेको छ ।
नेप्सेले हालको व्यवस्था बमोजिम कुनै पनि कम्पनीको आईपीओ सूचीकृतपछि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबार मूल्य तोक्ने गर्छ । नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्ने गरेको छ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८० पैसा रहेको छ । यस आधारमा दोस्रो बजारमा सूचीकृतपछि कम्पनीको पहिलो कारोबार मूल्य प्रतिकित्ता १०० रुपैयाँ ८० पैसादेखि अधिकतम ३०२ रुपैयाँ ४० पैसासम्मको मूल्य रेञ्ज नेप्सेले तोक्नेछ । पहिलो कारोबारपछिको मूल्य भने बजारमा लगानीकर्ताको माग र आपूर्तिका आधारमा निर्धारण हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।