काठमाडौं । पछिल्लो समय विद्युतीय सवारी (ईभी) र अन्य विद्युतीय सामग्रीको आयात निरन्तर बढ्दै गएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ७ महीना (माघ) सम्मको तुलनामा चालू आव २०८१/८२ को सोही अवधिमा यी वस्तुको आयात बढेको देखिएको हो ।
चालू आवको माघ महीनासम्म १६ अर्ब ३४ करोड रुपैयाँबराबरका ८० हजार ६ सय थान तीनपांग्रे, कार, जीपलगायतका विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको तुलनामा अहिलेको आयात २९ करोड रुपैयाँले बढी हो ।
गत आवको सोही अवधिमा यी वस्तुको आयात १६ अर्ब ५ करोड रुपैयाँ बराबरको थियो । उक्त अवधिमा ६९ हजार २ सय थान विद्युतीय सवारीसाधन आयात भएका थिए । नेपालमा चीन, भारत, दक्षिण कोरिया, जर्मनी र अमेरिकाबाट विद्युतीय गाडी आयात हुने गर्छन् ।
पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थबाट चल्ने आईसीभी गाडीको भन्दा ईभीमा ज्यादै कम भन्सार लिने गरेकाले यसको आयात बढ्दै गएको व्यवसायीहरू बताउँछन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष कृष्ण दुलालले सरकारले ईभीमा दिएको भन्सार सुविधाका कारण आयात बढेको बताएका छन् ।
उनका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा चार्जिङ स्टेशन राखिएसँगै उपभोक्ताको आकर्षण ईभीतर्पm बढिरहेको छ ।
चालू आवको सोही अवधिमा ल्यापटप/नोटबुकको समेत आयात बढेको विभागको तथ्यांकले देखाउँछ । चालू आवको माघसम्म ५ अर्ब १८ करोड रुपैयाँको ७५ हजार ७ सय थान ल्यापटप/नोटबुक आयात भएको छ । गत आवको सोही अवधिमा ४ अर्ब ४२ करोड रुपैयाँको ६८ हजार ५ सय थान ल्यापटप/नोटबुक आयात भएको थियो ।
विभागको तथ्यांकअनुसार स्मार्टफोन आयातसमेत बढेको छ । गत आवको पहिला ७ महीनामा १७ अर्ब ३८ करोड रुपैयाँको ११ लाख २६ हजार थान स्मार्टफोन आयात भएकोमा चालू आवको सोही अवधिमा १८ अर्ब ९८ करोड रुपैयाँको १२ लाख ३० हजार थान स्मार्टफोन आयात भएको छ ।
पछिल्लो समय आम उपभोक्तामा इन्टरनेटको पहुँच बढेसँगै सबैजसो बिल भुक्तानी मोबाइलबाटै गर्ने, अनलाइन कक्षा लिने, फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमा समेत व्यापक रूपमा पहुँच बढेका कारण स्मार्टफोन बोक्नेहरूको संख्या बढेको व्यवसायीहरू बताउँछन् ।
विद्युतीय सामग्रीमध्ये माघ महीनामा आयात बढेको अर्को वस्तु इन्डक्शन चूल्हो र राइसकुकर पनि हो । गत आवमा २९ करोड ८१ लाख रुपैयाँको १ लाख ८७ हजार थान इन्डक्शन चूल्हो र राइसकुकर आयात भएको थियो । तर, चालू आवमा ४८ करोड ६७ लाख रुपैयाँको ३ लाख ३ हजार थान इन्डक्शन चूल्हो र राइसकुकर आयात भएको छ ।
नेपालमा लोडशेडिङ अन्त्य भएसँगै खाना पकाउने काममा एलपी ग्यास भन्दा इन्डक्शन चूल्हो र राइसकुकरको प्रयोग बढेको नेपाल विद्युतीय व्यवसायी संघका निवर्तमान अध्यक्ष सुदर्शन पौडेलले बताए । उनका अनुसार सरकारले ग्यास खपत कम गर्न विद्युतीय चूल्होको खपत बढाउने भनेकाले पनि बिजुलीबाट खाना पकाउने सामग्रीको आयात बढेको हो । साथै, ग्यासको तुलनामा सस्तो पर्ने हुँदा यसतर्फ आकर्षण बढेको उनको भनाइ छ ।
भारतले २०७२ मा नाकाबन्दी गरेपछि सरकारले इन्धनभन्दा विद्युतीय चूल्होमा बढी जोड दिएको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को बजेटमार्फत सिंहदरबारभित्र खाना पकाउने ग्यास निषेधसमेत गरेका थिए ।
त्यसैगरी चालू आवको ७ महीनामा सबैखाले टेलिभिजनको समेत आयात बढेको पाइएको छ । माघसम्म १ अर्ब ५८ करोड रुपैयाँको ५७ हजार २ सय थान टेलिभिजन आयात भएको छ । गत आवको सोही अवधिमा ६५ करोड रुपैयाँको ३२ हजार ९ सय थान मात्रै टेलिभिजन आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।