काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार ३ दशमलव ३५ अंक बढेर बन्द भएको छ । यससँगै नेप्से परिसूचक २ हजार ७५८ दशमलव ७५ विन्दुमा कायम भएको छ ।
सोमवार बजार २ हजार ७८५ दशमलव १० विन्दुसम्म पुगेको थियो । केही दिनदेखि लगातार बढेको बजारमा प्रोफिट बुक गर्नेे हाबी हुँदा बजार केही दबाबमा रह्यो । यसो त अन्त्यमा भने बजार सकारात्मक नै भएर बन्द भएको हो ।
अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम केही घटे पनि औसतमा राम्रै रहेको छ । यसबाट बजारमा लगानीकर्ताहरू सकारात्मक भएको देखिन्छ ।
पछिल्लो समय बैंकहरूले सस्तो ब्याजदरमा शेयर धितो कर्जा दिइरहेका छन् । विशेषगरी ठूला लगानीकर्ताहरूले शेयर धितो कर्जा बढाएको तथ्यांकले पुष्टि गरेको छ ।
त्यस्तै बैंकहरूले मुद्दति निक्षेपमा निकै कममात्र ब्याजदर दिएकाले म्युचुअल फण्ड, बीमा कम्पनीसहित अन्य संस्थागत लगानीकर्ताहरूले समेत बैंक निक्षेप घटाएर शेयर बजारमै लगानी केन्द्रित गर्न थालेका छन् । यस कारणले पनि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने शेयर जानकार बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १३ प्रतिशत वृद्धि भएको छ भने फ्लोट इन्डेक्स शून्य दशमलव ०४ प्रतिशत घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स स्थिर रहेको छ ।
आज ३१० धितोपत्रको २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर १ लाख ३ हजार २६२ पटकमा रू. ११ अर्ब ८ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८५८ दशमलव २० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने (प्रतिशतका आधारमा) सूचीमा दोस्रोमा राप्ती हाइड्रो एण्ड जनरल छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ४७ प्रतिशत बढेर रू. ७०५ पुगेको छ ।
सोमवार विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ७७९ दशमलव १० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने (प्रतिशतका आधारमा) सूचीमा दोस्रोमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ४२ प्रतिशत बढेर रू. ७८५ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ८९ करोड ३५ लाख बराबरको शेयर कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ९९० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल रिइन्स्योरेन्सको रू. ८० करोड ६७ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये चार समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये अन्य समूहको सूचक सबैभन्दा बढी २ दशमलव ५० प्रतिशत वृद्धि भएको छ भने वित्त समूहको सूचक सबैभन्दा बढी १ दशमलव २१ प्रतिशत घटेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।