काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार (आज) नेप्से परिसूचक ७ दशमलव १३ अंक बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ७६५ दशमलव ८८ विन्दुमा कायम भएको हो । आजसँगै बजार लगातार सात कारोबार दिन बढेको छ ।
पछिल्लो समय लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्दै गएको छ । लगानीकर्ताहरू बजार बढ्छ भन्नेमा आशावादी देखिएका छन् । यसअघि लामो समयसम्म बजारले लगानीकर्तालाई 'प्यानिक' बनाएको थियो । साढे ३ वर्षदेखि बजार वियरिस ट्रेन्डमा रह्यो । यस कारण पनि अब बजार विस्तारै 'अप ट्रेण्ड'मा जाने जानकारहरू बताउँछन् ।
त्यस्तै बैंकहरूले मुद्दति निक्षेपमा निकै कम मात्र ब्याजदर दिएकाले म्युचुअल फण्ड, बीमा कम्पनीसहित अन्य संस्थागत लगानीकर्ताहरूले समेत बैंक निक्षेप घटाएर शेयर बजारमै लगानी केन्द्रित गर्न थालेका छन् । यही कारणले शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् ।
साथै राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । केही कसिएका नीति खुकुलो बनाएमा शेयर बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
कारोबार रकम भने हिजोको तुलनामा केही घटेको छ । अघिल्लो कारोबार दिन रू. ११ अर्ब ८ करोड बराबरको कारोबार भएकोमा आज रू. ९ अर्ब ९० कारोडमा झरेको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १७ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव २४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ११ प्रतिशत वृद्धि भएको छ ।
आज ३१२ धितोपत्रको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता शेयर ९७ हजार ५६२ पटकमा रू. ९ अर्ब ९० करोड बराबरको कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै पोजेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९४४ पुगेको छ ।
शेयर मूल्य सर्वाधिक बढ्ने (प्रतिशतका आधारमा) कम्पनीको सूचीमा दोस्रोमा नेपाल ल्युब आयल छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत बढेर रू. २७६ दशमलव ९० पुगेको छ ।
मंगलवार सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ८ दशमलव ९७ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ४४० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने (प्रतिशतका आधारमा) कम्पनीको सूचीमा दोस्रोमा राप्ती हाइड्रो छ । कम्पनीको शेयर मूल्य ६ दशमलव ६८ प्रतिशत घटेर रू. ६५७ दशमलव ९० कायम भएको हो ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. १ अर्ब २ करोडभन्दा बढीको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २५ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल रिइन्स्योरेन्स कम्पनीको रू. ८३ करोड ३ लाख बराबरको भएको छ ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये ६ समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये अन्य समूहको सूचक सबैभन्दा बढी २ दशमलव ९० प्रतिशत वृद्धि भएको छ भने व्यापार समूहको सूचक २ दशमलव ५१ प्रतिशत घटेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।