वातावरणीय परिवर्तनका कारण विश्वमा बढ्दै गएको तापमान र परिणाम स्वरूप भइरहेको जलवायु परिवर्तनले बहुआयामिक असर पारिरहेको छ । जीवाश्म इन्धनको अत्यधिक दोहन र प्रयोगबाट सृजित धूँवा र विषाक्तताबाट मानव स्वास्थ्यमा असर पारिरहेको छ । जीवास्म इन्धनमाथिको अत्यधिक निर्भरता कायम रहिरहनु र यसको प्रयोगमा कमी आउन नसक्नुले पृथ्वीमा हरितगृह असरका कारण औसत तापमान निरन्तर बढिरहेको छ । यद्यपि यस असरबाट उन्मुक्ति पाउने प्रयास स्वरूप पछिल्ला वर्षहरूमा विश्वमा नवीकरणीय ऊर्जाको प्रयोगमा वृद्धि हुँदै गएको छ । नेपालमा पनि स्वच्छ ऊर्जाको रूप मानिने जलविद्युत् उत्पादनमा वृद्धि भएसँगै विद्युत्को उपयोगमा वृद्धि हुँदै गएको छ । तापनि प्रतिव्यक्ति वा प्रतिपरिवार विद्युत् खपत अन्य देशको तुलनामा खास गरी देशको विद्युत् उत्पादनको तुलनामा भने बढ्न सकेको छैन । विद्युत्को उपयोगमा वृद्धि गर्दै पेट्रोलियम पदार्थमाथिको अत्यधिक निर्भरतालाई न्यूनीकरण गरी अन्ततः लगभग शून्य आयातको अवस्थामा पुग्ने लक्ष्य राख्नु जरुरी भएको छ । नेपालमा नवीकरणीय ऊर्जाको प्रयोग गरी चल्ने विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको भन्ने गरिन्छ ।
तथ्यांकीय प्रयोजनका लागि विविध क्षमता अनुसारका विद्युतीय सवारी साधन लिइएको छ । जुन यस प्रकार रहेका छन् : तीन पाङ्ग्रे अनएसेम्बल्ड अवस्थाका सवारीसाधनहरू (एचएस कोड ८७०३८०११), तीन पाङ्ग्रे सवारी साधनहरू (एचएस कोड ८७०३८०१९), मोटरको पिकअप पावर ५० किलोवाटसम्मका विद्युतीय कार, जीप, भ्यान (एचएस कोड ८७०३८०२९), मोटरको पिकअप पावर ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका विद्युतीय कार, जीप, भ्यान (एचएस कोड ८७०३८०५९), मोटरको पिकअप पावर १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जीप, भ्यान (एचएस कोड ८७०३८०६९), मोटरको पिकअप पावर २०१ किलोवाट देखि ३०० किलोवाटसम्मका विद्युतीय कार, जीप, भ्यान (एचएस कोड ८७०३८०७९) र मोटरको पिकअप पावर ३०० किलोवाटदेखि माथिका विद्युतीय कार, जीप, भ्यान (एचएस कोड ८७०३८०८९) । नेपालमा हाल आयात भएका यिनै विद्युतीय सवारीसाधनहरूको विवरण यस लेखमा समावेश गरिएको छ ।
विगत ५ वर्षमा भएको विद्युतीय सवारीसाधनको आयात तथ्यांक हेर्दा निरन्तर रूपमा वृद्धि हुँदै गएको तथ्यांकले देखाउँछ । आव २०७७/७८ मा रू. १ अर्ब ३ करोड मूल्यको आयात भएकोमा आ व २०८०/८१ मा आइपुग्दा रू. ३० अर्ब ७८ करोड मूल्यको आयात भएको छ । चालू आव २०८१/८२ को प्रथम ६ महीनामा मात्रै रू. १४ अर्ब ४ करोडको आयात भइसकेको छ । चार वर्षको अवधिमा (आव २०८०/८१ सम्ममात्र) आइपुग्दा मूल्यका हिसाबले वार्षिक आयातमा झन्डै ३० गुणाले वृद्धि भएको देखिन्छ ।
गत आ व २०८०/८१ मा भएको आयातलाई थप विश्लेषण गरी हेरौं ।
उक्त आवमा आयात भएको विद्युतीय सवारीसाधनका रूप वा प्रकारमा सबैभन्दा बढी मोटरको पिकअप पावर ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका विद्युतीय कार, जीप, भ्यान (एचएस कोड ८७०३८०५९) रहेको थियो र यसको रू. १९ अर्ब ६७ करोड ३ लाख मूल्यको आयात भएको थियो । यो आयात विद्युतीय सवारीसाधनको कुल आयातको ६३ दशमलव ९१ प्रतिशत अंश हुन आउँछ । यसैगरी दोस्रो स्थानमा मोटरको पिकअप पावर ५० किलोवाटसम्मका विद्युतीय कार, जीप, भ्यान रू. ८ अर्ब ६० करोड २० लाख मूल्यको आयात भएको थियो । यो आयात विद्युतीय सवारीसाधनको कुल आयातको २७ दशमलव ९५ प्रतिशत अंश हुन आउँछ ।
देशगत रूपमा आयात हेर्दा आव २०८०/८१ मा प्रमुख रूपमा आयात गरिएका देशहरूमा चीनबाट रू. २३ अर्ब २१ करोड ६ लाख मूल्यको (विद्युतीय सवारीसाधनको कुल आयातको ७५ प्रतिशत), भारतबाट रू. ६ अर्ब ६२ करोड २९ लाख मूल्यको (२२ प्रतिशत) गरी यी दुई देशबाट मात्र करीब ९७ प्रतिशत मूल्यको आयात भएको थियो ।
(लेखक तथ्यांकशास्त्री एवं भन्सार विभागका पूर्वकर्मचारी हुन् ।)
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।