काठमाडौं । ४०० केभी क्षमताका दुई ठूला अन्तरदेशीय प्रसारण लाइन बनाउन नेपाल र भारतबीच संयुक्त कम्पनी निर्माण प्रक्रिया शुरू भएको छ । यी दुई ठूला अन्तरदेशीस प्रसारण लाइन इनरुवा–न्यू पूर्णिया र दोधरा–बरेली हुन् ।
गएको २९ माघमा दुई देशका ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को १२औं बैठकमा दुई देशका अधिकारीबीच संयुक्त लगानीमा ४०० केभी क्षमताका चार र २२० केभी क्षमताको एकसहित पाँच नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति भएको थियो । उक्त बैठकले प्रसारण लाइन निर्माण गर्न लगानीको मोडालिटीसमेत निर्धारण गरेको थियो ।
सोही मोडालिटीअनुसार अहिले नेपालका तर्फबाट विद्युत् प्राधिकरण र भारतका तर्फबाट पावर ग्रीड कर्पोरेशन अफ इन्डियाको लगानी रहने गरी कम्पनी स्थापना हुन लागेको नेपाल विद्युत् प्राधिकरणको प्रसारण निर्देशनालय प्रमुख तथा उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आर्थिक अभियानलाई बताए ।
उनका अनुसार सरकारले ऊर्जा विकास मार्गचित्रमा राखेको लक्ष्य प्राप्त गर्न २०३५ सम्ममा ती प्रसारण लाइन सञ्चालनमा ल्याउने उद्देश्यसहित अहिले दुई देशबीच संयुक्त उपक्रम कम्पनी स्थापनाको तयारी अघि बढेको हो ।
‘कम्पनी स्थापना गर्न संयुक्त उपक्रम तथा शेयर स्वामित्व सम्झौताको मस्यौदा तयार गरेर नेपालले भारतलाई पठाइसकेको छ । अब भारतको पावर ग्रीड कर्पोरेशन अफ इन्डियाबाट उक्त मस्यौदा स्वीकृत भएर आएपछि त्यसलाई मन्त्रिपरिषद्मा पेश गरिनेछ । मन्त्रिपरिषद्को स्वीकृतिपछि संयुक्त कम्पनी स्थापनाका लागि बाटो खुल्नेछ,’ उनले भने ।
यसरी नेपालतर्फको प्रसारण लाइन निर्माणका लागि स्थापित कम्पनीमा प्राधिकरणको ५१ र पावर ग्रीडको ४९ प्रतिशत शेयर स्वामित्व रहनेछ । भारततर्फको प्रसारण लाइन निर्माणका लागि स्थापना हुने कम्पनीमा पावर ग्रीडको ५१ र विद्युत् प्राधिकरणको ४९ प्रतिशत शेयर रहने सहमति यसअघिको बैठकले गरिसकेको छ ।
बैठकले नेपाल–भारतबीचका मौजुदा विद्युत् प्रसारण लाइनहरू, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरू, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजना तथा सम्बद्ध प्रसारण लाइन आयोजनाहरू, अन्तरदेशीय विद्युत् आयात–निर्यातलगायत विषयमा सहमति गरेको थियो ।
सन् २०२८/२९ र २०२९/३० सम्ममा उक्त प्रसारण लाइनको निर्माण सम्पन्न गरिसक्ने सहमति यसअघिको बैठकमा भइसकेको छ ।
चमेलिया (नेपाल)–जौलजीवी (भारत) २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि पनि नेपालतर्फको लाइनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सरकारी स्वामित्वको एनईए इन्जिनीयरिङ कम्पनी लिमिटेडले तयार गर्ने गरी सम्झौता गर्ने विषयमा छलफल भएको श्रेष्ठले बताए । जेएससी बैठकले यो प्रसारण लाइनको निर्माण नेपाल खण्डमा प्राधिकरण र भारत खण्डमा पावर ग्रीडले सन् २०२७ भित्र सक्ने गरी २०२५ मार्चभित्रै डीपीआर तयार गरिसक्ने सहमति गरेको थियो ।
त्यसैगरी निजगढ–हरनैया, कोहलपुर–लखनउ र ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन निर्माणमा समेत जेएससी बैठकमा सहमति जुटेको हो । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली व्यापार गर्ने लक्ष्यलाई सहयोग पुग्ने गरी यी प्रसारण लाइनको डीपीआर तयार गरिने बताइएको छ ।
हाल नेपाल र भारतबीच उच्च क्षमताको ४०० केभीको ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन मात्र सञ्चालनमा छ । यो प्रसारण लाइनबाट ८०० मेगावाट बिजुली आपूर्ति भइरहेकोमा सुदृढीकरण गरी १ हजार मेगावाट क्षमताको बनाइने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।