वाशिंगटन । अमेरिकामा अण्डाको मूल्य बढेसँगै कुखुरा भाडामा लिने नयाँ प्रवृत्ति बढ्दै गइरहेको छ। गत वर्षको तुलनामा यस वर्ष जनवरीमा अण्डाको मूल्य १५ प्रतिशतले बढेपछि उपभोक्ताहरू वैकल्पिक उपायतिर लागेका हुन् । प्रतिडब्बा अण्डाको मूल्य ४.९५ अमेरिकी डलर पुगेपछि धेरैले आफ्नै आँगनमा कुखुरा पाल्ने विकल्प रोजेका छन् । तर, उनीहरू कुखुरा किन्नुको सट्टा भाडामा लिँदै छन्।
पन्छी फ्लू (एभियन इन्फ्लुएन्जा) ले अमेरिकाको पोल्ट्री उद्योगलाई ठूलो मात्रामा प्रभाव पारेको छ । कुखुरामा उक्त संक्रमण देखिँदा लाखौं कुखुरा नष्ट गर्नुपरेको छ जसका कारण अण्डाको आपूर्तिमा समस्या देखिएको छ।
अमेरिकी कृषि विभाग (युएसडीए)का अनुसार, सन् २०२२ देखि हालसम्म १६३ करोडभन्दा बढी कुखुरा र अन्य पन्छीहरू उक्त रोग लागेर तथा यसको प्रसार रोक्न मारिएका छन् । गत जनवरी २०२५ मा मात्रै १ करोड ९५ लाख अण्डा दिने कुखुरा मारिएका छन् ।
कसरी लिने कुखुरा भाडामा ?
कम्पनीहरू, जस्तै : 'रेन्ट द चिकन' ले ६ महीनाको लागि कुखुरा भाडामा दिन्छन् । यसले ग्राहकहरूलाई दीर्घकालीन जिम्मेवारी नलिई ताजा अण्डा प्राप्त गर्न मद्दत गर्छ। यसो गर्दा वार्षिक ३०० अमेरिकी डलरसम्म खर्च हुने र बजारको अण्डाको तुलनामा सस्तो पर्छ ।
देशभरिका कुखुरा पालकहरूले भाडामा पाल्नको लागि कुखुराको माग बढेको बताएका छन्। अक्टोबरदेखि कुखुराको खुराक विक्रीसमेत दोब्बर भएको छ । एउटा स्वस्थ कुखुरीले हप्तामा ५ ओटासम्म अण्डा दिन सक्छ । केही शहरहरूमा अण्डाको मूल्य प्रतिदर्जन ८–१० डलरसम्म पुगेको छ।
युएसडीएले एउटा कुखुरामा फ्लू पत्ता लागेमा सम्पूर्ण झुण्ड नै नष्ट गर्ने नीति लागू गरेको छ। डिसेम्बरमा आइयोवा फार्मका मात्रै ४२ लाख कुखुरा मारिएका थिए । यस्तो प्रकोपपछि फार्महरूले नयाँ कुखुरा उत्पादन गरि पाल्न महिनौं समय लाग्छ।
अमेरिकामा ३४ करोड जनसंख्या छ, तर हाल अमेरिकामा ३०.४ करोड मात्रै अण्डा दिने कुखुरा छन् । यो संख्या गत ५ वर्षमा ११ प्रतिशतले घटेको बताइएको छ । अण्डाको मूल्य घट्ने आशा नदेखिएकाले अमेरिकीहरूको आँगनमा कुखुरा पाल्ने वा भाडामा लिने क्रम बढ्दो छ । यसले राष्ट्रव्यापी अभाव त समाधान गर्दैन, तर ताजा अण्डाको लागि यो सिर्जनशील उपाय भने बनेको छ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।