लगातार तीन दिन घट्यो नेप्से, १७४ धितोपत्रको मूल्य घट्दा दुईको मूल्यमा सकारात्मक सर्किट

Share News

काठमाडौं । नेप्से परिसूचक लगातार तीन कारोबार दिन घटेको छ । बुधवार पनि नेप्से २५ दशमलव १६ अंक घटेर २ हजार ८२१ दशमलव १३ विन्दु कायम भएको छ । बजार लगातार ९ कारोबार दिन बढेपछि पुन: घट्न थालेको हो । घट्दो बजारको प्रभाव कारोबार रकम समेत परेको छ ।

अघिल्लो कारोबार दिन रू. १२ अर्ब ९४ करोड बराबरको कारोबार भएकोमा आज (बुधवार) रू. १० अर्ब ९७ करोड बराबरको भएको हो । छोटो समयमै बजार आकर्षक अंक बढेकाले पनि विक्रेता हाबी भएको देखिएको छ । बजार बढ्दा लगानीकर्ताहरूले कतिपय कम्पनीबाट आकर्षक प्रतिफल समेत पाएका छन् । नाफामा विक्री गरेकाहरू फेरि बजार प्रवेश गर्नका लागि मूल्य घट्ने समय पर्खेर बसेका हुन्छन् । जसको प्रभावले कारोबार रकम घटेको हो । 

सेन्सेटिभ इन्डेक्स १ दशमलव २० प्रतिशत, फ्‌लोट इन्डेक्स १ दशमलव ०३ प्रतिशत र सेन्सेटिभ फ्‌लोट इन्डेक्स १ दशमलव १५ प्रतिशत घटेको छ । 

३०८ धितोपत्रको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता शेयर १ लाख १ हजार ६०३ पटकमा रू. १० अर्ब ९७ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्र मध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । समाज लघुवित्तको शेयर मूल्य रू. २ हजार ९६८ र गार्डियन माइक्रो लाइफको रू. १ हजार ५२० दशमलव २० पुगेको छ । 

 बुधवार सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य ६ दशमलव ८४ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३६० मा झरेको छ । त्यस्तै दोस्रोमा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ५ दशमलव ५१ प्रतिशत घटेर रू. १ हजार २ सय कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ९६ करोड ७० लाख बराबरको शेयर कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ११५ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल रिइन्स्योरेन्सको रू. ९० करोड ३४ लाख बराबरको भएको हो । 

कारोबारमा आएका १३ समूहगत सूचकमध्ये ब्यापार समूहको सूचक शून्य दशमलव ४३ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको सूचक घटेको हो । सबैभन्दा बढी वित्त समूहको सूचक १ दशमलव ५५ प्रतिशत घटेको छ  । त्यस्तै निर्जीवन बीमा समूहको सूचक १ दशमलव ५१ प्रतिशत र जीबन बीमा समूहको सूचक १ दशमलव ४५ प्रतिशत घटेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।