प्रसारण लाइन निर्माणमा निजीक्षेत्र: दुई प्रसारण लाइनमा ६ कम्पनीको आवेदन

सांकेतिक तस्वीर ।

Share News

काठमाडौं । निजीक्षेत्रको सहभागितामा निर्माण गर्ने भनिएको हाइटार–शीतलपाटी ४०० केभी प्रसारण लाइनका लागि चार र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निर्माण गर्न दुई निजी कम्पनीले आवदेन दिएका छन् ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले गत पुसमा सार्वजनिक सूचना निकाल्दै सार्वजनिक–निजी लगानीअन्तर्गत निर्माण, सञ्चालन र हस्तान्तरण (बीओटी) मोडलमा यी दुई प्रसारण लाइन निर्माण गर्न आवेदन मागेको थियो ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका कम्पनी सचिव राजेश पोख्रेलले ४०० केभीको हाइटार–शीतलपाटी प्रसारण लाइन निर्माणका लागि चार कम्पनीको आवेदन परेको बताए । त्यसैगरी, बगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निर्माणका लागि दुई कम्पनीको आवेदन परेकोे उनले जानकारी दिए ।

उनका अनुसार हाइटार–शीतलपाटी प्रसारण लाइन निर्माणका लागि ह्वाइट फ्लावर इनर्जी कम्पनी प्रालिअन्तर्गत ४० दशमलव ७ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत् आयोजना, अपिक इनर्जी प्रालिको १२५ मेगावाट क्षमताको तल्लो बरुण खोला, समिट इनर्जी सोलुशन प्रालिको ४४ मेगावाट क्षमताको बकान खोला जलविद्युत् आयोजना र सांग्रिला ऊर्जा लिमिटेडअन्तर्गतको ६३ मेगावाट क्षमताको छुजुङखोला जलविद्युत् आयोजनाले आवेदन दिएका हुन् ।

यो प्रसारण लाइन निर्माण गर्न करीब ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । हाइटार–शीतलपाटी प्रसारण लाइन माथिल्लो अरुण नदी र सहायक नदी कोरिडोरमा अवस्थित जलविद्युत् आयोजनाहरूका लागि साझा प्रसारण लाइनका रूपमा निर्माण हुनेछ ।

त्यसैगरी लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निर्माणका लागि नासा कम्पनी लिमिटेडअन्तर्गतको १६० मेगावाट क्षमताको ल्याप्चेखोला जलविद्युत् आयोजना र सानिमा हाइड्रोपावरअन्तर्गतको जुमखोला जलविद्युत् आयोजनाले आवेदन दिएको पोख्रेलले बताए ।

लामाबगर–बाह्रबीसेको कुल लागत रकम झन्डै ५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । लगानीका लागि इच्छा व्यक्त गर्दै आवेदन दिएका यी सबै कम्पनीको अवस्थाबारे अहिले अध्ययन र छलफल भइरहेको छ । लामाबगर–बाह्रबीसे प्रसारण लाइन निर्माण भए पाच्ओटा विद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोड्न सहयोग पुग्नेछ । 

‘यी कम्पनीले दिएको आवेदनमा सबै शर्त पूरा भएको खण्डमा शेयर बाँडफाँटको प्रक्रिया अघि बढ्ने र राष्ट्रिय ग्रीड प्रसारण कम्पनीले कति र निजी कम्पनीहरूले कति लगानी गर्ने भन्ने विषयमा टुंगो लाग्ने पोख्रेलले बताए ।

लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निजीक्षेत्रसहितको लगानीमा निर्माण गर्न लागिएको दोस्रो र हाइटार–शीतलपाटी प्रसारण लाइन तेस्रो हो ।

तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन भने नेपालमै पहिलोपटक निजीक्षेत्रको लगानीमा निर्माण हुँदै छ । यसको लागत ३ दशमलव ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसका लागि राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले २६, रेमिट हाइड्रोले १०, सिम्बुवा रेमिट हाइड्रोले ९, क्रिस्टल पावर डेभलपमेन्ट प्राइभेट लिमिटेडले ४२, युनियन हाइड्रोपावरले ८ र नेपाल हाइड्रो भेन्चर प्राइभेट लिमिटेडले ५ प्रतिशत स्वपूँजी लगानी गर्ने गरी यसअघि नै सम्झौता भइसकेको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।