काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । यस दिन नेप्से २ दशमलव ७० अंक घटेर २ हजार ८१८ दशमलव ४३ विन्दुमा कायम भएको छ ।
नेप्से आजसँगै लगातार चार कारोबार दिन घटेको हो । चार दिनमा नेप्से ७१ दशलमव ८४ अंक घटेको छ । त्यसअघि बजार लगातार ९ कारोबार दिनमा २११ दशमलव ७८ अंक बढेको थियो ।
आज बजार उच्च विन्दु २ हजार ८३४ दशमलव ०७ विन्दुसम्म पुगेर न्यून २ हजार ८११ दशमलव ३७ विन्दुसम्म झरेको थियो । आजको बजारको ट्रेण्ड हेर्दा बजार सम्हालिन खोजेको पनि देखिएको जानकार बताउँछन् । सोही कारण बजार सामान्य अंक घटेको हो । यसले बजारमा 'सेलिङ प्रेसर' कम हुँदै गएको देखाएको जानकारको भनाइ छ । अहिले बजार 'करेक्सन'मा भए पनि विस्तारै लय समात्ने जानकारहरू बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २३ प्रतिशत वृद्धि भएको छ भने फ्लोट इन्डेक्स शून्य दशमलव ०५ प्रतिशत घटेको छ ।
आज ३१० धितोपत्रको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता शेयर ९३ हजार ८९५ पटकमा रू. १० अर्ब १० करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । गार्डियन माइक्रो लाइफको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ६७२ दशमलव २० र भूगोल इनर्जीको रू. ७४३ दशमलव ६० पुगेको छ ।
आज १० प्रतिशत नबिल डिबेञ्चर २०८२ नामक ऋणपत्रको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । ऋणपत्रको मूल्य रू. १ हजार १२३ दशमलव २३ मा झरेको हो । दोस्रोमा गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ६० प्रतिशत घटेर रू. ३ हजार ८० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको हो । यस कम्पनीको रू. १ अर्ब १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ७३ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल रिइन्स्योरेन्स छ । कम्पनीको रू. १ अर्ब ८ करोडभन्दा बढीको शेयर कारोबार भएको हो ।
कारोबारमा आएका १३ समूहत सूचकमध्ये चार समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये विकास बैंक समूहको सूचक सबैभन्दा बढी १ दशमलव ८६ प्रतिशत वृद्धि भएको छ भने जीवन बीमा समूहको सूचक शून्य दशमलव ८० प्रतिशत घटेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।