पेरिस । फ्रान्सको सबैभन्दा व्यस्त टर्मिनलतर्फ जाने रेलमार्गमा दोस्रो विश्वयुद्धको बम फेला परेपछि पेरिस गारे डु नोर्ड रेल स्टेसनमा शुक्रबार यातायात रोकिएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय एसएनसिएफ रेल कम्पनीले सेन्ट डेनिस उपनगरको क्षेत्रमा मर्मत कार्यको क्रममा रातभर ‘रेलमार्गको बीचमा’ विस्फोट नभएको बम फेला परेको बताएको छ ।
आरइआर बी उपनगरीय रेलले एक्समा लेखेको पोस्टमा बम ‘दोस्रो विश्वयुद्धको समयको’ भएको उल्लेख छ । पेरिस प्रहरीले यन्त्रलाई निष्क्रिय पार्ने काम गरिरहेकाले युरोस्टार रेलहरूका साथै उच्च–गति र स्थानीय सेवाहरू सञ्चालन गर्ने रेल स्टेसनमा सबै ट्राफिक बन्द गरिएको थियो । गारे डु नोर्ड रेल स्टेशन पेरिसको उत्तरमा अवस्थित छ र देशको सबैभन्दा व्यस्त रेल टर्मिनल हो । एसएनसिएफका अनुसार यो टर्मिनलले प्रत्येक दिन अनुमानित सात लाख मानिसलाई सेवा प्रदान गर्दछ ।
गोली हानाहान, २२ जनाको मृत्यु
इक्वेडरको लागूपदार्थ तस्करी गिरोहका प्रतिद्वन्द्वी समूहहरूबीच बिहीबार हिंसात्मक बन्दरगाह सहर गुयाक्विलमा भिडन्त हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । शहरमा आन्तरिक झडपको शृङ्खलामा अन्य तीन जना घाइते भएका छन् ।
स्थानीय प्रहरीले विज्ञप्तिमा पहिले १२ जनाको मृत्यु भएको बताएको थियो । एक प्रहरी स्रोतका अनुसार गोली हानाहानमा लस टिगेरोन्स नामक गिरोहका विरोधी समूहहरू संलग्न थिए । उक्त गिरोह यस पहिले शान्तिपूर्ण देशमा सबैभन्दा शक्तिशाली गिरोहमध्ये एक हो । इक्वेडर लागुऔषध तस्करी, अपहरण र फिरौतीमा संलग्न अनुमानित २० आपराधिक गिरोहहरूको घर हो ।
यिनीहरूले विश्वको सबैभन्दा ठूला कोकिन उत्पादकहरू पेरु र कोलम्बियाबीचमा रहेको एक करोड ८० लाख जनसङ्ख्या भएको इक्वेडरमा विनाश मच्चाइरहेका छन् । पछिल्ला वर्षहरूमा इक्वेडर गुयाक्विल जस्ता बन्दरगाहहरू मार्फत संयुक्त राज्य अमेरिका र युरोपमा कोकिन पठाउने अन्तर्राष्ट्रिय कार्टेलहरूको द्रुत प्रसारको बीच हिंसामा डुबेको छ ।
उदाहरणका लागि हत्याको दर सन् २०१८ मा प्रति एक लाख बासिन्दामा छ बाट बढेर सन् २०२३ मा रेकर्ड ४७ पुगेको छ । विशेषज्ञहरूका अनुसार गिरोहहरू निरन्तर परिवर्तन भइरहेका छन् र अपराधबाट हुने मुनाफाले बलियो हुँदै गएका छन् । गुयाक्विल गुयास प्रान्तको राजधानी हो । यो सात प्रान्तमध्ये एक हो र यहाँ सरकारले अपराधीहरूसँग लड्दै गर्दा पछिल्लो दुई महिनादेखि आपत्कालीन अवस्था लागू गरेको छ ।
गत महिना राष्ट्रपति डानियल नोबोआले स्पष्ट नगरिएका मित्र राष्ट्रहरूलाई यो लडाइँमा मद्दत गर्न विशेष बलहरू पठाउन अनुरोध गर्ने बताउनुभएको थियो । अप्रिल १३ मा नोबोआले वामपन्थी लुइसा गोन्जालेजको सामना गर्ने निर्वाचनका लागि इक्वेडरले तयारी गरिरहेको बेला पनि हिंसा कम भएको छैन । रासस/एएफपी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।