काठमाडौं । पछिल्लो एक महीनामा अन्य समूहको सूचक १७ दशलमव ७३ प्रतिशत वृद्धि भएको छ । यस समूहको सूचक गत माघ २२ गते २ हजार १३६ दशमलव ४३ रहेकोमा फागुन २२ गते बढेर २ हजार ५१५ दशमलव १९ विन्दुमा पुगेको छ ।
यस समूहका दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा वृद्धि भएसँगै समूहगत सूचक बढेको हो । यी दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
यी कम्पनी पूँजी वृद्धि अभियानमा रहेकाले आगामी दिनमा आकर्षक बोनस शेयर र हकप्रद शेयरमार्फत पूँजी बढाउने भएकाले लगानीकर्ताको रोजाईमा परेका हुन् । हिमालयन रिइन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेकाले र नेपाल रिइन्स्योरेन्सले पूँजी पुर्याउन हकप्रद शेयर र बोनस शेयरलाई जोड दिन सक्ने विश्वासले कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण परेको जानकार बताउँछन् ।
नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्ता पूँजी रू. २० अर्ब पुर्याउन निर्देशन दिएको छ । नेपाल रिइन्स्योरेन्सको चुक्तापूँजी रू. १३ अर्ब ४२ करोड र हिमालयन रिइन्स्योरेन्सको रू. १० अर्ब ४० करोड रहेको छ ।
पछिल्लो एक महीनामा सर्वाधिक बढ्ने सूचकको सूचीमा दोस्रोमा वित्त समूह छ । यस समूहको सूचक ९ दशमलव ७२ प्रतिशत वृद्धि भएको छ । गत माघ २२ गते यस समूहको सूचक २ हजार ५३६ दशमलव ०५ रहेकोमा २ हजार ७८२ दशमलव ५९ पुगेको हो ।
समीक्षा अवधिमा १३ समूहगत सूचकमध्ये आठ समूहको सूचक बढेको छ । यस्तै, पाँच समूहको भने सूचक घटेको छ । तीमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ४३ प्रतिशत घटेको छ । यस समूहको सूचक गत माघ २२ मा ४ हजार ४२६ दशमलव १३ रहेकोमा फागुन २२ मा ४ हजार २७४ दशमलव ४७ विन्दुमा झरेको हो ।
एक महीना अवधिमा नेप्से परिसूचक ३ दशलमव ७७ प्रतिशत वृद्धि भएको छ । गत माघ २२ मा नेप्से २ हजार ७१५ दशमलव ९१ रहेकोमा फागुन २२ मा २ हजार ८१८ दशमलव ४३ पुगेको छ ।
समूहको नाम | फागुन २२ गतेको सूचक | माघ २२ गतेको सूचक | घटबढ प्रतिशत |
अन्य | 2515.19 | 2136.43 | 17.73 |
वित्त | 2782.59 | 2536.05 | 9.72 |
जीवन बीमा | 14238.42 | 13229.21 | 7.63 |
लगानी | 114.1 | 106.53 | 7.11 |
उत्पादन तथा प्रशाधेन | 7616.93 | 7251.4 | 5.04 |
बैंकिङ्ग | 1417.9 | 1367.54 | 3.68 |
विकास बैंक | 5911.61 | 5868.63 | 0.73 |
लघुवित्त | 5203.46 | 5182.11 | 0.41 |
निजीबन बीमा | 13101.46 | 13155.44 | -0.41 |
होटल तथा पर्यटन | 6768.06 | 6814.36 | -0.68 |
म्युचुअल | 20.02 | 20.17 | -0.74 |
जलविद्युत | 3788.63 | 3836.51 | -1.25 |
व्यापार | 4274.47 | 4426.13 | -3.43 |
स्रोत : नेप्से
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।