काठमाडौं । पछिल्लो साताको कारोबारलाई हेर्दा लामो समयदेखि सकारात्मक बन्न नसकेको धितोपत्र दोस्रो बजार सुधारिन लागेको देखिन्छ । अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचक शून्य दशमलव २३ प्रतिशत अर्थात ६ अंकले मात्र घटेको हो । पाँच कारोबार दिनमा तीन दिन बजार बढेको थियो भने दुई दिन घटेको थियो । पहिलो कारोबार दिन ५४ दशमलव ६२ अंक घटेको बजार दोस्रा दिन २६ दशमलव १० अंकले बढेको थियो । तेस्रो कारोबार दिन ५८ दशमलव शून्य ५ अंकले घटेको बजार चौथो दिन ३९ दशमलव १३ अंक र पाँचौ दिन ४१ दशमलव ४३ अंक बढेको हो । अन्तिम दिनको कारोबारले छोटो टुप्पी र लामो पुच्छर भएको हरियो मैनबत्ति बनाएको छ । यो मैनबत्ति संकेतले आगामी दिनमा बजार बढ्ने संकेत गर्दछ । तर पनि लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामै रहेको देखिन्छ ।
नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार ६६९ दशमलव ३१ विन्दुमा बन्द भएकोमा गत साताको अन्तिम कारोबार दिन २ हजार ६६३ दशमलव ३० विन्दुमा बन्द भएको हो । ब्रोकरहरूले शेयर धितोकर्जा बढ्दो अवस्थामा रहेकाले आगामी दिनमा बजारमा लगानी बढ्ने अनुमान लगाएका छन् । अल्पकालिन लगानीकर्तालाई केहि सम्हालिने खालका नीति आएमा बजारलाई सहयोग मिल्ने विश्वास ब्रोकरहरूले गरेका छन् ।
गत साताको तुलनामा ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३१ प्रतिशत घटेर ४४६ दशमलव २९ विन्दुमा बन्द भएको छ । गत साता कुल कारोबार रकम घटेपनि कारोबार कित्ता भने बढेको छ । यस आधारमा कम मूल्य भएका कम्पनीको शेयर कारोबारमा लगानीकर्ता आकर्षित भएको देखिन्छ ।
नेप्सेका अनुसार अघिल्लो साता २६ अर्ब २९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको ५ करोड १३ लाख ३१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा गत साता २५ अर्ब ४१ करोड १९ लाख रुपैयाँभन्दा बढीको ५ करोड २१ लाख ८२ हजारभन्दा बढी कित्ता मात्र धितोपत्र कारोबार भएको हो । अघिल्लो साताभन्दा गत साता कुल कारोबार रकम ८८ करोड ४९ लाख रुपैयाँभन्दा बढीले घटेको हो भने कुल कारोबार कित्ता े ८ लाख ५० हजारभन्दा बढीले बृद्धि भएको हो ।
औसतमा भने अघिल्लो साता ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको १ करोड २ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा गत साता ५ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको १ करोड ४ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । औसत कारोबार रकम अघिल्लो साताभन्दा गत साता १७ करोड ६९ लाख रुपैयाँभन्दा बढीले घट्दा औसत कारोबार कित्ता भने १ लाख ७० हजारभन्दा बढीले बृद्धि भएको छ ।
कुल कारोबार रकम भने ९ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीले घटेको छ । अघिल्लो साता भने त्यसअघिको साताको तुलनामा कुल बजार पूँजीकरण १ खर्ब ११ अर्ब ५३ करोड ९२ लाख रुपैयाँले घटेको थियो । बजार सम्हालिदा गत साता लगानीकर्ताको सम्पत्ति मूल्य कम घटेको देखिन्छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ४४ खर्ब ३२ अर्ब २७ करोड २६ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब २२ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ कायम भएको हो ।
गत साता विकास बैंकले सर्वाधिक गुमाउँदा व्यापारिक समूहले सर्वाधिक कमाए
गत साता पाँच समूहको परिसूचक बढ्दा बाँकी समूहको परिसूचक घटेको छ । पाँच समूहमध्ये व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव २८ प्रतिशतले बढेको छ । त्यस्तै अन्य समूहको १ दशमलव ७३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ९८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ५२ प्रतिशत र लगानीको शून्य दशमलव ४१ प्रतिशत परिसूचक बढेको हो ।
गत साता विकास बैंकको परिसूचक सर्वाधिक २ दशमलव ३४ प्रतिशत घटेको छ । त्यस्तै जलविद्युतको २ दशमलव १५ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव ८३ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ४२ प्रतिशत, लघुवित्तको शून्य दशमलव ६३ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २४ प्रतिशत र वित्तको शून्य दशमलव ११ प्रतिशत परिसूचक घटेको छ । गत साता परिसूचक घटेकामध्य वित्त समूह सर्वाधिक कममा पर्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।