वैदेशिक रोजगारीमा रहेका नेपालीको उच्च आकर्षण आईपीओमा, बचतपत्रमा भने आकर्षण न्यून

Share News

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीमा उनीहरूका लागि जारी हुने धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा उच्च आकर्षण रहँदा वैदेशिक रोजगार बचतपत्रमा भने निकै न्यून आकर्षण पाइएको छ । 

सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीको आम्दानी उत्पादनमूलक क्षेत्रमा लगानी गराउने उद्देश्यले आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । अर्कोतर्फ सरकारले उनीहरूबाट पूँजी संकलन गर्न हरेक वर्ष वैदेशिक रोजगार बचतपत्रसमेत जारी गरिरहेको छ ।

तथ्यांकगत रूपमा हेर्दा चालू आर्थिक वर्ष (आव) मा पाँच कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओमा भागभन्दा बढी आवेदन परी पूर्ण रूपमा विक्री भएको छ । 

सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार चालू आवमा आएका पाँच कम्पनीको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा पूर्ण रूपमा विक्री भएको छ ।

सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि हालसम्म जारी भएका आईपीओ सबै विक्री भएको बताए । 

उनका अनुसार ५६ हजारभन्दा बढी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक आईपीओमा जोडिसकेका छन् । पछिल्लो समय जारी भएको पियोर 

इनर्जीको आईपीओ खरीदका लागि ५६ हजार ४०२ जनाको आवेदन परेको न्यौपानेले जानकारी दिएका हुन् । 

चालू आवमा सबैभन्दा पहिले आईपीओ विक्री गरेको गार्डियन माइक्रो लाइफमा ४७ हजारभन्दा बढीको र त्यसपछिका तीन कम्पनीमा ५१ हजारभन्दा बढीको आवेदन परेको न्यौपानेको भनाइ छ । 

आव २०७९/८० को बजेटमा श्रम स्वीकृति लिएर विदेशमा काम गर्न गएका नेपालीका लागि सर्वसाधारणमा जारी हुने आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरिएको थियो । 

उक्त व्यवस्था कालिञ्चोक दर्शनको आईपीओदेखि लागू भएको थियो । कालिञ्चोक दर्शनले २०७९ मङ्सिर 

१४ गतेदेखि २८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ८ हजार कित्ता शेयर निष्कासन गरेको थियो । 

पहिलोपटक ६ हजार ६११ जना वैदेशिक रोजगारीमा रहेका नेपालीमा शेयर बाँडफाँट भएको थियो । शुरूमा आवेदन दिने सबैले शेयर पाए पनि पछिल्लो समय १० कित्ता पाउन पनि भाग्यले साथ दिनुपर्ने अवस्था छ । 

पछिल्लो समय मागभन्दा बढी आवेदन परेसँगै गोलाप्रथाबाट धितोपत्र बाँडफाँट हुँदै आएको छ । 

तर, चालू आवमा जारी भएका दुई किसिमका वैदेशिक रोजगार बचतपत्र भने करीब ११ प्रतिशत मात्र विक्री भएको अवस्था छ । 

सरकारले चालू आव शुरू भएयता ५० करोड रुपैयाँ बराबरको ८ दशमलव ५ प्रतिशत ब्याजदर रहेको वैदेशिक बचतपत्र गत फागुन १५ गतेदेखि चैत १८ गतेसम्म विक्री खुला गरेको थियो । 

उक्त बचतपत्रमध्ये १० दशमलव ८४ प्रतिशत मात्र विक्री भएको अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । 

कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलले पछिल्लो समय वैदेशिक रोजगार बचतपत्रमा पनि विदेशमा रहेका नेपालीको आकर्षण तुलनात्मक रूपमा बढेको बताए । 

२०८० चैतदेखि वैदेशिक रोजगार बचतपत्र विक्री गर्ने जिम्मेवारी पाएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रचारप्रसारमा ध्यान दिएको उनले जानकारी दिए । 

‘कार्यालयले जिम्मेवारी पाएसँगै वैदेशिक रोजगार बचतपत्रको विक्री बढेको छ,’ उनले भने, ‘चालू आवमा ५० करोड रुपैयाँको वैदेशिक बचतपत्र विक्री गर्दा ५ करोड ४२ लाख रुपैयाँ बराबरको बचतपत्र विक्री भएको छ ।’ यसअघि ५० करोड रुपैयाँको बचतपत्र विक्री गर्दा २ करोड रुपैयाँभन्दा बढीको मात्र विक्री भएको तथ्यांकलाई समेत उनले उल्लेख गरे । 

खाडी मुलुकमा गएका नेपाली बचतपत्रप्रति बढी आकर्षण रहे पनि उनीहरूको क्षमताले नभ्याउने र विकसित देशमा रोजगारीमा गएका नेपाली नागरिकको क्षमता भए पनि उत्साह नदेखाउने भएकाले बचतपत्र विक्रीमा समस्या भएको बुझाइ पोखरेलको छ ।

आगामी दिनमा बचतपत्र विक्री प्रभावकारी हुने गरी कार्यालयले काम गर्ने उनले बताए । विशेष गरी प्रचारप्रसारमा ध्यान दिएर अघि बढ्ने योजनामा कार्यालय रहेको उनको भनाइ छ । 

सरकारले आव २०६६/६७ देखि बचतपत्रमार्फत ऋण उठाउन शुरू गरेको हो । हालसम्म सरकारले २७ ओटा योजनामार्फत १७ अर्ब रुपैयाँभन्दा बढीको बचतपत्र विक्रीका लागि आवेदन माग गरे पनि करीब ८७ करोड रुपैयाँको मात्र विक्री भएको अवस्था छ । 

हालसम्मको विक्रीको अवस्था हेर्दा समग्रमा ५ प्रतिशतभन्दा बढी मात्र वैदेशिक रोजगार बचतपत्र विक्री भएको देखिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।