भैरहवा (रूपन्देही) । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग राख्दै रूपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देहीले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेका हुन् ।
आन्दोलनमा विमानस्थल अगाडी धर्ना देखि राजनैतिक दलका नेताहरूलाई बहिष्कार सम्मको कार्यक्रम सार्वजनिक गरिएको छ । उद्योगी व्यवसायीहरूले विमानस्थल सञ्चालनको लागि सबै मिलेर निर्णायक आन्दोलन गर्ने जनाएका हुन् ।
सिद्धार्थ सञ्जाल रूपन्देहीको अगुवाईमा हुने आन्दोलनमा जिल्लाका सबै संघ संस्था रहने गरि संयुक्त आन्दोलन संघर्ष समिति समेत गठन गरिएको छ ।
पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिका साथै संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरूसँग छलफल गरी प्रतिवद्धता लिने, सम्बन्धित एअरलाईन्सका प्रमुखसँग छलफल गर्ने समितिका संयोजक तथा सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।
विगतमा सरकारले विमानस्थल सञ्चालन गर्ने प्रतिवद्धता जनाएपछि आफूहरूले आन्दोलन स्थगित गरे पनि सरकारले गरेको प्रतिवद्धता पूरा नगरेको व्यवसायीहरूको जिकिर छ ।
विगतमा गरिएको गल्ती यस पटक नदोहोराउने र विमानस्थल नियमित सञ्चालन नभए सम्म आन्दोलनको कार्यक्रम नरोकिने सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेको वायुसेवा कम्पनीहरूले गर्मीयामका लागि "समर शेड्युल” लिएका छैनन् । यसले अब यहाबाट सातामा एक दिन नेपाल एयरलाईन्सको विमान बाहेक अन्य अन्तर्राष्ट्रिय उडानहरू हुने छैनन् ।
भैरहवाबाट उडान हुदै आएका जजिरा एयरलाईन्स, फ्लाई दुबई, थाई एयर एशियाले समर शेड्युल लिएका छैनन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।