भारत र पाकिस्तानबीच युद्धविराम

भारत र पाकिस्तानबीच भएको युद्धविरामबारे जानकारी दिँदै भारतका विदेश विदेश सचिव विक्रम मिश्री । तस्वीर : एएफपी/रासस

Share News

नयाँ दिल्ली (भारत) । भारत र पाकिस्तानबीच शनिवार साँझ युद्धविराम भएको छ । 

भारतका विदेशमन्त्री एस जयशंकरले दुवै देशबीच युद्धविराम भएको पुष्टि गरे । उनले सामाजिक सञ्जाल एक्समार्फत भारत र पाकिस्तानबीच गोलाबारी र सैन्य कार्बाही रोक्न सहमति भएको जानकारी दिए । 

भारत र पाकिस्तानबीचको वार्ताका लागि अमेरिकाले गरेको मध्यस्ततामा दुवै देश युद्धविराममा सहमत भएका हुन् । 

त्यसअघि अमेरिकी विदेशीमन्त्री मार्काे रुबियोले भारतका विदेशमन्त्री एस जयशंकर र पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इशाक डारसँग छुट्टाछुट्टै वार्ता गरेका थिए । विदेश विभागका प्रवक्ता टैमी ब्रूसले शनिवार बिहान जारी गरेको एक विज्ञप्तिमार्फत यसको जानकारी दिएका थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि सामाजिक सञ्जाल ट्रुथमार्फत भारत–पाकिस्तान युद्धविरामका लागि सहमत भएको उल्लेख गरेका थिए । 

दुवै देशबीच आगामी सोमवार (मे १२)मा फेरि वार्ता हुने भारतका विदेश सचिव विक्रम मिश्रीले बताए । 

भारतले गत बुधवार (मे ७)मा पाकिस्तानको आतंकी स्थानमा अपरेशन सिन्दूर शुरु गरेको थियो । त्यसपछि पाकिस्तानले पनि भारतका विभिन्न स्थानमा ड्रोन र मिसाइल आक्रमण गरेको थियो । 

भारत-पाकिस्तान तत्काल पूर्ण युद्धविराम गर्न सहमत : अमेरिकी राष्ट्रपति ट्रम्प

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।