प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको इकाई छिटो अवधिमा बिकेन, ढिलो अवधिसम्मको निष्कासन मिति तय

Share News

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नयाँ योजना सञ्चालनका लागि जेठ २३ गतेदेखि इकाई निष्कासन गरेको छ । क्यापिटलले प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम नाम खुलामुखी योजना सञ्चालन गर्न लागेको हो ।

त्यसका लागि क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई निष्कासनमा ल्याएको हो । यी इकाई निष्कासनका लागि तोकिएको छिटो अवधि जेठ २७ गतेसम्म मागबमोजिम आवेदन नपरेपछि योजना व्यवस्थापकले ढिलो अवधि असार ६ गतेसम्म निष्कासन गर्न लागेको छ ।

सो अवधि अगावै मागबमोजिम आवेदन परे जुनसुकै दिन निष्कासन बन्द गरिने जानकारी योजना व्यवस्थापकले दिएको छ ।

यस योजनाको कुल आकार ४ करोड इकाइको हुनेछ । कुल इकाईमध्ये ७ दशमलव ५ प्रतिशत अर्थात् ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंक र ७ दशमलव ५ प्रतिशत अर्थात् ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ ।

यीबाहेक २ करोड ५० लाख इकाई भने सार्वजनिक निष्कासनमा ल्याइएको हो । इकाई निष्कासन तथा विक्री प्रबन्धकमा योजना व्यवस्थापकका रूपमा रहेको प्रभु क्यापिटल लिमिटेड नै रहेको छ । 

यो योजना खुलामुखी प्रकृतिको भएकाले निरन्तर चलिरहनेछ । धितोपत्र दोस्रो बजारमा बन्दमुखी प्रकृतिको योजनाको जसरी कारोबार नहुने हुँदा योजना व्यवस्थापक तथा कोष प्रवर्द्धक आफै वा अन्य आधिकारिक संस्थाहरूलाई वितरक तोकी इकाई खरीदविक्री हुने व्यवस्था मिलाइने छ ।

खुलामुखी योजनाका इकाईहरू खरीदविक्री गर्न इकाईधनीहरूलाई कुनै प्रतिबन्ध हुँदैन । योजनाको खुद सम्पत्ति मूल्यको आधारमा यस योजनाको इकाई खरीदविक्री हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।