शिथिल बजारका कारण महँगी वृद्धिदर ५ वर्षपछिको न्यून बिन्दुमा

Share News

काठमाडौं । आर्थिक गतिविधि शिथिल हुँदा उपभोक्ता मूल्य वृद्धिदर (महँगी) ५ वर्षपछिकै न्यून बिन्दुमा झरेको छ । 

नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत वैशाख उपभोक्ता मूल्य वृद्धिदर २ दशमलव ७७ प्रतिशतमा झरेको छ । यो ६२ महीनापछिको न्यून हो । 

राष्ट्र बैंकका अनुसार २०७७ माघमा उपभोक्ता मूल्य वृद्धिदर २ दशमलव ७७ प्रतिशतमा झरेको थियो । कोभिड–१९ को महामारीका कारण आर्थिक गतिविधि ठप्प भई बजारमा वस्तु तथा सेवाको माग घटेपछि मुद्रास्फीति न्यून बिन्दुमा झरेको थियो । अहिले पनि विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीका कारण आर्थिक गतिविधि शिथिल हुँदा फेरि मुद्रास्फीति न्यून विन्दुमा झरेको हो । यतिबेला बजारमा आर्थिक गतिविधि शिथिल हुँदा माग घटेको र यसले गर्दा मुद्रास्फीति पनि न्यून विन्दुमा झरेको अर्थशास्त्रीहरू बताउँछन् । ‘बजारमा उत्पादन वृद्धि भएमा वा माग घटेको अवस्थामा मूल्य वृद्धिदर घट्ने गर्छ,’ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकसमेत रहेका अर्थशास्त्री नरबहादुर थापा भन्छन् । ‘अहिले नेपालमा उत्पादन बढेको छैन, आर्थिक गतिविधि नहुँदा बजारमा माग घटेकाले मूल्यवृद्धि क्रमशः घट्दै न्यून बिन्दुमा आएको हो ।’

मुद्रास्फीतिको तथ्यांकले देशको अवस्थामा सुधार नभएको र आर्थिक मन्दीको अवस्था देखाउने थापाको विश्लेषण छ । ‘जनताको हातमा पैसा छैन, त्यसैले बजार चलायमान हुन सकेन,’ उनले भने । ‘यो भनेको अर्थतन्त्र मन्दीमा छ, सुधार आएको छैन ।’

राष्ट्र बैंकका अनुसार वैशाखमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल, फलफूल, दाल तथा गेडागुडी र गैरमदिराजन्य पेय पदार्थको मूल्य बढेको छ । तरकारी, मरमसला र माछामासुको मूल्य भने घटेको छ । 

तरकारी तथा माछामासुको मूल्य घट्दा समग्रमा मूल्य वृद्धिदर न्यून विन्दुमा झरेको राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित बताउँछन् । मूल्य वृद्धिदर कम हुँदा राष्ट्र बैंकलाई लचिलो मौद्रिक नीतिमार्फत बजारमा नगद प्रवाह बढाउने बाटो खुलेको उनले बताए । 

राष्ट्र बैंकले जेठको पहिलो साता चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत आगामी दिनमा लचिलो मौद्रिक नीतिको संकेत गरिसकेको छ । सन्तुलित स्तरमा मौद्रिक तरलता कायम राखी समग्र आन्तरिक माग व्यवस्थापन गर्नेतर्फ मौद्रिक नीतिको जोड रहने उल्लेख गर्दै उसले मौद्रिक कार्यदिशा नै परिवर्तन गरिसकेको छ । चालू आर्थिक वर्ष (आव) को वैशाखसम्ममा बैंकहरूको कर्जा प्रवाहमा पनि बढोत्तरी देखिएको छ । गत आवको असारको तुलनामा वैशाखसम्ममा बैंक, वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६८ अर्ब ६८ करोड अर्थात् ७ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको वैशाखसम्ममा बैंकहरूको कर्जा २ खर्ब २५ अर्ब २४ करोड अर्थात् ४ दशमलव ७ प्रतिशतले बढेको थियो । २०८१ वैशाखको तुलतामा भने बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रतर्फ प्रवाहित कर्जा ८ दशमलव ४ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ । 

बैंकहरूको क्षेत्रगत कर्जा प्रवाहमध्ये ट्रस्ट रिसिप्ट (आयात) कर्जा ५८ दशमलव १ प्रतिशतले बढेको छ । यस्तै मार्जिन प्रकृतिको कर्जा ३९ दशमलव ३, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५ दशमलव २, हायर पर्चेज कर्जा ४ दशमलव १ प्रतिशतले बढेको छ । अधिविकर्ष कर्जा भने १२ दशमलव ९ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । 

चालू आवको वैशाखसम्ममा बैंक, वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ९९ अर्ब ८१ करोड अर्थात् ६ दशमलव २ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ खर्ब ४३ अर्ब ८ करोड अर्थात् ७ दशमलव ८ प्रतिशतले बढेको थियो ।

चालू आवको वैशाखसम्ममा विप्रेषण आप्रवाह १३ दशमलव २ प्रतिशतले वृद्धि भई १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ९ प्रतिशतले बढेको थियो । २०८२ वैशाखमा मात्र १ खर्ब ६५ अर्ब ३० करोड विप्रेषण आएको छ । यो हालसम्मकै उच्च हो । 

वैशाखसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव ५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । यो अघिल्लो वर्ष १४ दशमलव ८ प्रतिशतले बढेको थियो ।

यस्तै वैशाखमा चालू खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा हुँदा विदेशी मुद्रा सञ्चिति पनि २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । विदेशी मुद्रा सञ्चिति २०८१ असारको तुलनामा २३ दशमलव १ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा सञ्चिति २०८१ असारमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा २० दशमलव ५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ । आव २०८१/८२ को १० महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव ४ महीनाको वस्तु र १४ दशमलव ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।