२ अर्ब लगानीको उद्योगबाट ‘फ्रेन्च फ्राई’ उत्पादन शुरू

Share News

काठमाडौं । नेपालको पहिलो फ्रेन्च फ्राई उत्पादन गर्ने उद्योगको दाबी गर्ने फर्स्ट च्वाइस फूड्स प्रालिले आफ्ना उत्पादन बिहीवार औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ । रूपन्देहीको  शुद्धोधन–४ मैनहियामा २०८१ फागुनदेखि व्यावसायिक उत्पादन शुरू गरी ‘हिमालयन क्रिप्स’ ब्राण्डबाट बजारमा विक्री भइरहेको छ । बजारमा उत्पादनको उपस्थिति बढाउने उद्देश्यले काठमाडौंमा ‘प्रडक्ट लञ्च’ गर्न लागिएको कम्पनीका संस्थापक तथा कार्यकारी अध्यक्ष कृष्णप्रसाद पौडेलले आर्थिक अभियानलाई बताए ।

  • कैलाली, सिन्धुपाल्चोक, अर्घाखाँची, प्युठान, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, मकवानपुरलगायत जिल्लाका किसान उद्योगमा जोडिएका छन् ।

कम्पनीका अनुसार २ अर्ब रुपैयाँ लगानीमा स्थापित उद्योगले २०८० सालमा परीक्षण उत्पादन गरेको थियो । त्यसको उद्योगले २०८१ फागुनदेखि व्यावसायिक उत्पादन शुरू गरेको हो । 

‘नेपालको बजारमा मात्र होइन, हामीले फागुनदेखि नै ४/५ कन्टेनर फ्रेन्च फ्राई अहिले भारतको उत्तराखण्डमा निर्यात गरिरहेका छौं,’ पौडेलले भने,  ‘भारतकै उत्तर प्रदेशमा पनि फ्रेन्च फ्राई निर्यातको तयारी गरेका छौं । अमेरिकामा निर्यातका लागि प्रक्रिया अघि बढाइएको छ ।’ अहिले उद्योगबाट एक घण्टामा २ टन फ्रेन्च फ्रार्ई उत्पादन गरिरहेको उनले जानकारी दिए । उनका अनुसार उद्योगबाट हाल फ्रेन्च फ्राई मात्र उत्पादन हुँदै आएको छ । आलुका थप अन्य परिकार भने आउँदो वर्षदेखि बनाउने योजना रहेको उनको भनाइ छ । उद्योगको पूर्ण क्षमताअनुसार नै उत्पादन भइरहेको छ । 

रूपन्देहीको मैनहियामा ५ बिगाहा जग्गामा रहेको उक्त उद्योगमा प्रत्यक्ष रूपमा १०० जनाभन्दा बढीले रोजगारी पाइरहेको बताइएको छ । यो उद्योगसँग विभिन्न १९ जिल्लाका किसान जोडिएका छन् । ‘आलुखेतीका लागि किसानलाई हामीले सघाएका छौं,’ पौडेलले भने, ‘किसानलाई आलुको बीउको तयारी, लगाउने, खन्ने, मलजल हाल्ने लगायत सबै प्राविधिक विषय सिकाउँछौं, किसानले उत्पादन गरेको आलु हाम्रो समूहले खेतबाटै किनेर ल्याउने गरेको छ ।’

कैलाली, सिन्धुपाल्चोक, अर्घाखाँची, प्युठान, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, मकवानपुरलगायत जिल्लाका किसान उद्योगमा जोडिएका छन् । उद्योगमा बैंक, प्राइभेट इक्विटी र पौडेलसहित ६ जना लगानीकर्ताको लगानी छ । त्यसमध्ये उद्योगको बोर्ड सदस्य तथा निर्देशकसमेत रहेका श्यामप्रसाद ढकाल आलु उत्पादन हेर्छन् । उनी एक अनुभवी आलु बाली विशेषज्ञसमेत हुन् ।

युरोपेली प्रविधिबाट फ्रेन्च फ्राई उत्पादन हुँदै आएको पौडेल बताउँछन् । उक्त उद्योगका प्रमुख ग्राहक भाटभटेनी सुपरमार्केट, द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, सेल्सबेरी, बिगमार्टलगायत छन् । नेपालका रेस्टुराँदेखि ठूला होटेलसम्म फ्रेन्च फ्राई बन्ने, तर आयात गरेर त्यसको माग पूर्ति गरिने भएकाले नेपालमै उत्पादन शुरू गरिएको जानकारी दिए । भन्सार विभागको तथ्यांकअनुसार नेपालले अहिले पनि भारत, चीन, मलेसिया र अमेरिकाबाट फ्रेन्च फ्रार्ई आयात गरेको देखिन्छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।