चलचित्र उद्योगको नयाँ थालनी

Share News
  • सृजनशीलतालाई प्रोत्साहन, नवप्रवर्तनलाई सहयोग र श्रमलाई सम्मान दिँदा मात्र नेपाली मनोरञ्जन उद्योगले अन्तरराष्ट्रिय स्तरमा आफ्नो उपस्थिति जमाउन सक्छ ।
  • नेपालीहरूको उपस्थिति विश्वभरि पुगेसँगै नेपाली सिनेमा र मनोरञ्जन उद्योगले विश्वभरि नै व्यापार गर्न सक्ने भएको छ ।

नेपालमा छायांकन गरिएको पहिलो नेपाली चलचित्र ‘आमा’ प्रदर्शनमा आएको ६० वर्षपछि नेपालमा ‘रियलटाइम बक्स अफिस प्रणाली’ शुरू भएको छ । त्यस्तै चलचित्र विकास बोर्डको रजत जयन्ती (२५औं वार्षिकोत्सव) को अवसरमा बोर्डले सर्वाधिक कमाइ गर्ने २५ फिल्मलाई सम्मान गरेको छ । यो सिनेमा क्षेत्रलाई व्यावसायिक बनाउन सकारात्मक पहल हो । यसले यो उद्योग अब सृजनामा मात्र नभई प्रणाली र पारदर्शितामा पनि बलियो हुन थालेको संकेत गर्छ ।

सरकारले पहिलो फिल्म आमा प्रदर्शन भएको असोज १५ गतेलाई राष्ट्रिय फिल्म दिवसको रूपमा घोषणा गर्ने निर्णय गरेको छ । चलचित्रको मितिमा आधारित फिल्म दिवसको स्थापनाले अब फिल्म क्षेत्रले आफ्नो विशेष दिन पाएको छ । यसले राष्ट्रिय स्तरमा चलचित्रप्रति गरिमा र गौरव सृजना गर्न सक्छ । 

नेपालमा कुन फिल्मले कति व्यापार गर्यो, कति आम्दानी गर्यो भन्नेमा निर्माताका आआफ्नै दाबी हुन्थ्यो । त्यस्तै दर्शक प्रशस्त भएर पनि हलहरूले शो नदिएको आरोप वितरकहरूले लगाउने गरेको पाइन्छ । यस्तो विवादकै कारण सरकारले पाउने मनोरञ्जन कर पनि यथार्थ नभएको आशंका हुनु अन्यथा होइन । यस्तो अवस्थामा रियल टाइम बक्स अफिस प्रणाली लागू गर्नु निकै सकारात्मक छ । विश्वभरि नै सिनेमामा यस्तो बक्स अफिस प्रणाली सञ्चालनमा छ । नेपालमा ढिलै भए पनि रियलटाइम कारोबार थाहा पाउन सकिने भएको छ । निर्माताले अब आफ्नो चलचित्रको आय रियलटाइममा हेर्न सक्नेछन्, जसले उत्पादनदेखि प्रदर्शनसम्मको सम्पूर्ण आर्थिक चक्रलाई पारदर्शी बनाउनेछ । विगतमा निर्माताहरूले अनुमानकै भरमा कमाइको दाबी गर्दै आएका थिए । अब भने वास्तविक तथ्यांकका आधारमा मूल्यांकन, कर संरचना, लगानी निर्णय र पुरस्कार प्रणालीसमेत निष्पक्ष बन्नेछ । 

नेपालको मनोरञ्जन उद्योग पछिल्ला वर्षहरूमा विस्तार हुँदै गएको छ । चलचित्र, संगीत, नाटक, डिजिटल सामग्री, सामाजिक सञ्जाल र युट्युबजस्ता माध्यमहरूले यो क्षेत्रमा उल्लेख्य प्रगति गरेको देखिएको छ । प्रविधिको विकास, नयाँ पुस्ताको सृजनात्मक सक्रियता र दर्शकको अपेक्षामा आएको परिवर्तनका कारण नेपाली मनोरञ्जन उद्योगले व्यावसायिक सम्भावना र सांस्कृतिक प्रभाव दुवै क्षेत्रमा महत्त्वपूर्ण उपस्थिति देखाउन थालेको छ । नेपालीहरूको उपस्थिति विश्वभरि पुगेसँगै नेपाली सिनेमा र मनोरञ्जन उद्योगले विश्वभरि नै व्यापार गर्न सक्ने भएको छ । यो निकै ठूलो उपलब्धि हो । तर, यो उद्योग समस्याबाट मुक्त छैन । स्पष्ट नीति, दीर्घकालीन लगानी, प्राविधिक दक्षता र अन्तरराष्ट्रिय स्तरीय प्रतिस्पर्धामा पुग्नका लागि आवश्यक पूर्वाधारको कमी छ । कलाकार र सिर्जनाकर्मीहरूले श्रमको उचित मूल्य नपाउनु, बौद्धिक सम्पत्तिको चोरी र संस्थागत संरक्षणको अभाव आज पनि गम्भीर चुनौती बनेका छन् ।

नेपालमा चलचित्र मात्र होइन संगीत पनि मनोरञ्जन उद्योगको मेरूदण्ड हुन सक्छ । तर तीमाथि पर्याप्त लगानी र व्यवस्थापन नहुँदा परम्परागत कलासंस्कृति ओझेलमा पर्दै गएको छ । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा युवाहरूको सक्रियता बढे पनि गुणस्तरीय सामग्रीको अभाव देखिन्छ । त्यस्तै नेपालको मौलिकतालाई जोगाउन पनि यो उद्योग चुक्न थालेको हो कि भन्ने देखिन्छ यद्यपि नेपाली मौलिकता बोकेका सिनेमा र गीतले राम्रो बजार पाएका छन् । 

सरकारले यस क्षेत्रलाई औपचारिक रूपमा उद्योगको मान्यता दिँदै अनुदान, कर छूट र प्राविधिक तालिम कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । यस्तै, फिल्म सिटी, डिजिटल स्टुडियो र अन्तरराष्ट्रिय सहकार्यका लागि नीति निर्माण हुन आवश्यक छ । अहिले ओटीपी प्लेटफर्ममार्फत पनि सिनेमा देखाउन थालिएकाले त्यसलाई पनि बक्स अफिसमा जोड्न आवश्यक छ । मनोरञ्जन केवल समय बिताउने माध्यम होइन यो राष्ट्रको पहिचान र अर्थतन्त्रको अंश पनि हो । त्यसैले यो उद्योगको सुदृढ विकासमा सबैले ध्यान दिनुपर्छ । सृजनशीलतालाई प्रोत्साहन, नवप्रवर्तनलाई सहयोग र श्रमलाई सम्मान दिँदा मात्र नेपाली मनोरञ्जन उद्योगले अन्तरराष्ट्रिय स्तरमा आफ्नो उपस्थिति जमाउन सक्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।