काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ६७औं वर्षमा प्रवेश गरेको छ । मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा निगमले आफ्नो केन्द्रीय कार्यालयमा ६७औं वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले समग्र हवाई क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमको सुदृढीकरण अपरिहार्य रहेको बताएका छन् । हवाई क्षेत्र एकअर्कासँग आश्रित हुने भएकाले वायुसेवा निगमको सुदृढीकरण गरिनुपर्नेमा उनले जोड दिए । वायुसेवा निगम ऐतिहासिक महत्त्व बोकेको र राष्ट्रको पर्यटन क्षेत्रको मेरुदण्ड भएको भन्दै उनले यसको विकासका लागि सरकार सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे । निगम व्यवस्थापन तथा कर्मचारीलाई वस्तुपरक, तथ्यपरक र परिणाममुखी रूपमा कार्य गर्न उनले निर्देशनसमेत दिए ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हालसम्म गरेका उपलब्धिमूलक कार्यको जानकारी दिँदै सार्वजनिक खरीद विनियमावली नै निगमको प्रगतिको मुख्य बाधक भएको उल्लेख गरे । लक्षित उद्देश्यअनुरूप कटिबद्ध भई नागरिकको विश्वासमा वृद्धि गर्न सुरक्षित उडानलाई प्राथमिकता दिँदै सुलभ, भरपर्दो र नियमित सेवामार्फत विश्वसनीयता कायम राख्न निगम प्रतिबद्ध रहेको उनले बताए ।
सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ ।
निगमले हाल अन्तरराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटसको दुबई र साउदी अरबको रियादमा उडान गर्दै आएको छ ।
निगमले दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका विमानमार्फत अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।
आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ । निगमसँग आन्तरिक उडानका लागि दुई थान ट्वीनअटर विमान छन् । निगमको ऋण दायित्व करीब ५० अर्ब पुगेको छ ।
वाइडबडी विमान खरीद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो । भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धालगायत कारणले खस्केको निगमको शाख अहिले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तरराष्ट्रिय गन्तव्यमा व्यापार प्रवर्द्धनले उकासिएको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।