असोज १ र २ मा पावर समिट २०२५

Share News

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले पावर समिट २०२५ को नवौं संस्करण आगामी असोज १ र २ मा काठमाडौंमा गर्ने भएको छ । ‘मिशन २८,५०० मेगावाट : नेपाललाई ऊर्जा दिँदै, ऊर्जाशील क्षेत्र’ नारासहित समिट आयोजना गरिने इप्पानले जानकारी दिएको छ ।

इप्पानले बिहीवार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । सरकारले २०३५ सम्ममा देशको कुल स्थापित विद्युत् क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य राखेको छ ।

‘निजीक्षेत्रको जिम्मेवारी र सक्रिय सहभागिताबाट मात्र यो लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने महसूस गर्दै यो सम्मेलन नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षणमा, नेपालस्थित भारतीय दूतावासमार्फत भारतलाई साझेदारका रूपमा र विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्था, एजेन्सी र कम्पनीहरूको सहभागितामा आयोजना गरिँदै छ,’ इप्पानको विज्ञप्तिमा भनिएको छ ।

नेपालको हालको जडित क्षमता ३ हजार ६०२ मेगावाट छ, जसमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको २ हजार ९०० मेगावाटभन्दा बढी योगदान छ । 

यो नेपालको ऊर्जा उत्पादनको ८० प्रतिशतभन्दा बढी हो । सम्मेलनमा नेपालका प्रधानमन्त्री, विभिन्न राष्ट्रका प्रतिष्ठित व्यक्तित्व र ऊर्जा पारिस्थितिक प्रणालीका विज्ञ र सरोकारवालासहित ३० देशका १ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । सम्मेलनले नेपाल र अन्य दक्षिण एशियाली देशहरूलाई उनीहरूको नेट–शून्य लक्ष्य प्राप्त गर्न र समावेशी, दिगो ऊर्जा वृद्धिलाई प्रवर्द्धन गर्न मद्दत गर्ने लक्ष्य पनि राखेको छ । यसले प्रभावकारी क्षेत्रीय नीति निर्माणका लागि उत्तम अभ्यासहरूको साझेदारीलाई पनि सहज बनाउनेछ । इप्पानका अनुसार अहिलेसम्म नेपालको जलविद्युत् क्षेत्रमा निजी लगानी १३ खर्ब रुपैयाँ नाघेको छ, भविष्यमा लगानी ५० खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

ऊर्जा विकास मार्गचित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पुर्याउन र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रिय बजारमा व्यापार गर्न/गराउन ३० भन्दा धेरै देशका लगानीकर्ता, कूटनीतिक तथा विकास साझेदार नियोगका अधिकारीहरू, सरकारी तथा गैरसरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्रहरू, राष्ट्रिय तथा अन्तरराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रबुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञलगायतलाई एउटै छानामुनि भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहस गर्ने मुख्य उद्देश्य समिटले राखेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।