भारतीयका लागि कैलासयात्रा खुलेपछि माउन्टेनले थप्यो हेलिकोप्टर

चीनबाट नेपाल आयात गरिएको हेलिकप्टर । तस्वीर सौजन्य : माउन्टेन हेलिकप्टर प्रालि ।

Share News
  • पाँचओटा पुर्याउनुपर्ने प्राधिकरणको नीतिले पनि थप्न दबाब 
  • सन् २०२६ भित्रै थप एउटा ल्याउने योजना

काठमाडौं । स्वदेशी वायुसेवा प्रदायक कम्पनी माउन्टेन हेलिकप्टर्स प्रालिले एउटा हेलिकोप्टर थपेको छ । कम्पनीले उक्त हेलिकोप्टर नेपाल–चीन व्यापारिक नाका तातोपानी हुँदै स्थलमार्गबाट ल्याएको हो ।

एक प्रतिशत भन्सार महशुल र मूल्य अभिवृद्धिकर (भ्याट)बाहेक २६ करोड रुपैयाँ तिरेर उक्त कम्पनीले चिनियाँ कम्पनीसँग एयरबसको ६ सीट क्षमताको एएस–३५ बीथ्रीई मोडलको हेलिकोप्टर बिहीवार नेपाल भित्र्याएको हो ।

नेपालमा एयरबसकै हेलिकोप्टरको वर्चस्व छ । अधिकांश हेलिकोप्टर समुद्रीमार्ग हुँदै कलकत्ता बन्दरगाह आउने र त्यहाँबाट कन्टेनरमा वीरगञ्ज नाकामा आउने गरेका छन् । माउन्टेन हेलिकोप्टर्स प्रालिले चीनको सानक्सी प्रदेशको तेयुआन शहरस्थित शान्सी होउथुफाङ टेक्नोलोजी कम्पनीले ल्याएको हेलिकोप्टर खरीद गरेको हो । चीनबाट सामान ढुवानी गर्ने आडो ट्रान्सपोर्ट कम्पनीले टेलरमा राखेर तातोपानी नाकासम्म ल्याएको हो । हेलिकोप्टर अहिले भन्सार यार्डमा राखिएको छ । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले तातोपानी नाकाबाट पहिलोपटक हेलिकोप्टर आयात भएको जानकारी दिए । हेलिकोप्टरको भन्सार जाँचपास प्रक्रिया १/२ दिनभित्र पूरा हुने उनले जानकारी दिए । 

माउन्टेन हेलिकोप्टर्स प्रालिका महाप्रबन्धक दिलबहादुर ओलीले एयरबसको फ्रान्समा निर्मित हेलिकोप्टर चाइनाको कम्पनीबाट किनेर ल्याएको जानकारी दिए । चीनको उक्त कम्पनीले ३ वर्षभन्दा बढी चलाएको हेलिकोप्टर माउन्टेनले ल्याएको हो । ‘चाइनाबाट ल्याउने भएकाले पहिलोपटक तातोपानी नाका स्थलमार्ग हुँदै ल्याइएको हो,’ उनले भने । योसँगै अहिले कम्पनीसँग हेलिकोप्टरको संख्या तीन पुगेको छ । 

‘कम्पनीको व्यवसाय विस्तारका साथै कोरोना महामारीपछि बजारको माग पनि बढेकोले हेलिकोप्टर थपिएको हो । सन् २०२६ भित्रमा अर्को पनि भित्र्याउने तयारीमा छौं,’ ओलीले भने । ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ वर्षमा क्रमशः ५ ओटा हेलिकोप्टर पुर्याउनुपर्ने नीति ल्याएको हुँदा पनि थपिएको हो । मुख्य त, बजार मागका आधारमै थपिएको हो ।’ 

वायुसेवा प्रदायक कम्पनीले नेपालमा आउने वायुयान कलकत्ता बन्दरगाहसम्म सामुद्री मार्ग हुँदै ल्याउने र त्यहाँबाट वीरगञ्ज भन्सारसम्म कन्टेनरमै ल्याउने गर्छन् । नेपालमा ल्याइएका अधिकांश हेलिकोप्टर यही रूटबाट कन्टेनरमा ल्याउने गरिएको भन्दै ओलीले थपे, ‘पहिलोपटक उत्तरी नाका तातोपानी हुँदै हेलिकोप्टर ल्याइएको हो । उडाएर ल्याइएका हेलिकोप्टरको संख्या कम छ ।’ उनले कोरोनापछि व्यवसाय बढेको हुँदा र पछिल्लो समय पर्यटन क्षेत्रमा सकारात्मक अवस्था देखिएकाले व्यवसाय विस्तार गर्ने योजनाअनुसार हेलिकोप्टर थपिएको र थप एउटा ल्याउने योजना रहेको जानकारी दिए ।

कम्पनीले व्यावसायिक उडान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गर्दै आएको छ । रात्रि बिसानका लागि भने नलिन्चोक जाने गरेको उनको भनाइ छ । उनका अनुसार कोरोना महामारीपछिका वर्षमा व्यवसायमा सुधारका साथै कम्पनीको आम्दानीमा पनि सुधार भइरहेको छ । 

अन्तरराष्ट्रिय पर्यटकमा बढी भर पर्ने हेलिकोप्टर व्यवसायमा माउन्टेन हेलिकोप्टर्सको पनि धेरैजसो उडान सगरमाथा क्षेत्रमा केन्द्रित हुने गरेको छ । धेरैजसो उडान सगरमाथाका साथै पोखरा बेस गरेर हुने गर्छ । यो वर्षदेखि कैलास यात्रा उडान पनि शुरू गरेको उनले जानकारी दिए । ‘भारतीयका लागि यो वर्ष कैलास यात्रा खुला गरिएको छ,’ उनले भने, ‘कैलासका लागि हुम्लाको सिमिकोट बेस बनाएर उडान गर्छौं ।’ भारतीयका लागि कैलास यात्रा खुला गरेपछि व्यवसाय विस्तार गर्नका लागि पनि हेलिकोप्टर थपिएको उनको भनाइ छ । नेपालको हाई अल्टिच्युड र भौगोलिक बनोटमा एयरबसकै हेलिकोप्टर उपयुक्त मानिने भएकाले अधिकांश नेपाली हेलिकोप्टर कम्पनीले एयरबसकै ल्याउने गरेका छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।