काठमाडौं । यो साता निरन्तर बजार बढ्दा नेप्से परिसूचक २ हजार ७०३ दशमलव ९६ विन्दुमा पुगेर बन्द भएको छ ।
गत साताको अन्तिम कारोबार दिन २ हजार ५९५ दशमलव ७४ विन्दुमा रहेको नेप्से परिसूचक गत साता ४ दशमलव १७ प्रतिशत बढेको हो । अंकका हिसाबमा नेप्से परिसूचक १०८ दशमलव २२ अंक बढेको देखिन्छ ।
वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थाले विगत लामो समयदेखि बजारमा सकारात्मक प्रभाव पर्न सकेको थिएन । पछिल्लो समय भने लगानीकर्ताहरूले कर्जा बढाएर बजारमा लगानी गरेको ब्रोकरहरू बताउँछन् । आगामी आर्थिक वर्षमा लगानीकर्ताले सूचीकृत कम्पनीबाट निकै आशा गरेको पछिल्लो समय बढेको लगानीकर्ताको सक्रियताले प्रष्ट्याउने भनाइ ब्रोकरहरूको छ ।
गत वर्ष धेरै कम्पनीहरूले हात खाली बनाएको भए पनि यस वर्ष धेरैले लाभांश दिने अपेक्षा लगानीकर्ताले गरेका हुन् । लगानीकर्ता आशाबादी हुँदा यो साता पाँच कारोबार दिन नै बजार बढेको छ ।
बजार बढ्दा यो साता कुल बजार पूँजीकरण ४५ खर्ब ५ अर्ब १९ करोड ३८ लाख कायम भएको छ । गत साताको तुलनामा यो साता कुल बजार पूँजीकरण १ खर्ब ८० अर्ब ३० करोड ५६ लाख रुपैयाँले बढेको हो । गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ४३ खर्ब २४ अर्ब ४८ करोड ८१ लाख रुपैयाँभन्दा बढी थियो ।
यो साता ठुला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव ६३ प्रतिशत बढेको छ । कुल कारोबार रकम करीब १४ प्रतिशत र कारोबार कित्ता १७ दशमलव ८० प्रतिशत बढेको नेप्सेको तथ्याङ्कले देखाउँछ ।
गत साता ३५ अर्ब १० करोड ८८ लाख रुपैयाँभन्दा बढीको ८ करोड ६३ लाख ६२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ३९ अर्ब ९३ करोड २३ लाख ८७ हजार रुपैयाँभन्दा बढीको १० करोड १७ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
यो साता औसतमा ७ अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको २ करोड ३ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता औसतमा ७ अर्ब २ करोड रुपैयाँभन्दा बढीको १ करोड ७२ लाख ७२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
सातागत परिसूचकको तुलना
विवरण | यो साता | गत साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,703.96 | 2,595.74 | 108.22 | 4.17 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 464.46 | 443.9 | 20.56 | 4.63 |
कारोबार रकम (रू. हजारमा) | 39,932,387.47 | 35,108,800.69 | 4,823,586.78 | 13.74 |
कारोबार कित्ता | 101,738,357 | 86,362,464 | 15,375,893 | 17.8 |
औसत कारोबार रकम (रू. हजारमा) | 7,986,477.49 | 7,021,760.14 | 964,717.36 | 13.74 |
औसत कारोबार कित्ता | 20,347,671.40 | 17,272,492.80 | 3,075,178.60 | 17.8 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 4,505,193.80 | 4,324,888.14 | 180,305.66 | 4.17 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
जीवन बीमा कम्पनीका शेयरधनी सर्वाधिक कमाउनेमा
यो साताको कारोबारमा समग्र बजार बढ्दा सबै परिसूचकहरू समेत बढेका छन् । सबै परिसूचक बढेको यो साता जीवन बीमा समूहको सर्वाधिक ८ दशमलव ५० प्रतिशत बढेको हो ।
जीवन बीमापछि वित्त समूहको ७ दशमलव ३८ प्रतिशत, विकास बैंकको ७ दशमलव २६ प्रतिशत, निर्जीवन बीमाको ७ दशमलव शून्य २ प्रतिशत, बैंकिङको ५ दशमलव २५ प्रतिशत, लघुवित्तको ५ दशमलव १६ प्रतिशत, लगानीको २ दशमलव ९८ प्रतिशत, अन्यको २ दशमलव ४५ प्रतिशत, म्युचुअल फण्डको २ दशमलव ३० प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव शून्य ९ प्रतिशत, जलविद्युतको १ दशमलव ५३ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव २७ प्रतिशत र व्यापारिकको शून्य दशमलव ८३ प्रतिशत परिसूचक बढेको हो ।
परिसूचक बढेको आधारमा व्यापारिक समूहका लगानीकर्ताले भने सबैभन्दा कम कमाएका हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।