काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल व्यापार र लगानीमा दीर्घकालीन सहकार्यका लागि बेलायती व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
बेलायतस्थित नेपाली दूतावासले लण्डनमा आयोजना गरेको “नेपाल–यूके टेक फोरम”लाई सम्बोधन गर्दै उनले नेपालमा प्रविधि तथा डिजिटल सेवामा लगानीको सम्भावना रहेकाले सूचना प्रविधि, ई–गभर्नेन्स, फिनटेक, एजु–टेकलगायत क्षेत्रमा संयुक्त लगानी, स्टार्टअप एक्सचेन्ज र दीर्घकालीन सहकार्य गर्न आग्रह गरे ।
अध्यक्ष ढकालले नेपालको लगानी वातावरणमा भइरहेको रूपान्तरण र प्रविधिमैत्री नीतिहरूबारे जानकारी गराउँदै अहिले सूचना प्रविधि क्षेत्रमा नेपालमा लगानी गर्ने अनुकूल समय भएको धारणा राखे । “नेपालले लगानीमैत्री वातावरण बनाउन कानूनी सुधारमा विशेष ध्यान दिएको छ । एक वर्षमा ३० भन्दा बढी कानून संशोधन भइसकेका छन्‚ जसले व्यवसाय र लगानी प्रक्रिया सजिलो बनाएको छ‚” उनले भने, “लगानीकर्तालाई सहजीकरण गर्न महासंघले ‘एफडीआई सपोर्ट डेस्क’ स्थापना गरेको छ र राष्ट्रिय नागरिक एपमार्फत व्यवसाय दर्ता तथा व्यवस्थापन प्रक्रिया डिजिटल बनाइएको छ ।”
नेपालको डिजिटल पूर्वाधार विकास, अनलाइन प्रणाली प्रवर्द्धन र विश्वव्यापी प्रतिस्पर्धा गर्न आवश्यक प्राविधिक मापदण्ड तथा पूर्वाधार सुदृढीकरणका लागि अन्तरराष्ट्रिय सहकार्यको आवश्यकतामा जोड दिँदै उनले नेपाल सन् २०२६ पछि अति कमविकसित मुलुक (एलडीसी)बाट स्तरोन्नति हुने तयारीमा रहेको सन्दर्भमा डिजिटल व्यापार र सेवाक्षेत्रलाई विश्व बजारसँग प्रतिस्पर्धी बनाउनुपर्ने बताए ।
नेपालको निजी क्षेत्रले कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) को ८० प्रतिशतभन्दा बढी योगदान पुर्याएको र रोजगारी सिर्जनामा पनि प्रमुख भूमिका खेलेको उल्लेख गर्दै उनले नेपालको निजी क्षेत्र डिजिटल अर्थतन्त्र निर्माणमा नेतृत्व गर्न तयार रहेको बताए। “नेपालको निजी क्षेत्र डिजिटल अर्थतन्त्र निर्माणको नेतृत्व गर्न तयार रहेको छ । नेपालले लगानी कानूनलाई वातावरण, भूमि, श्रम र करसम्बन्धी व्यवस्थासँग समन्वय गर्ने प्रयास गरेको छ र आगामी १० वर्षसम्म नीतिगत स्थिरता कायम राख्न माग गर्दै आएको छ, जसले स्वदेशी तथा विदेशी लगानीकर्तालाई विश्वसनीयता प्रदान गर्नेछ‚” उनले भने ।
बेलायतस्थित प्राविधिक क्षेत्रका विज्ञ, लगानीकर्ता र कूटनीतिक समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको सो कार्यक्रममा नेपाल–बेलायतबीच डिजिटल व्यापार र प्रविधि साझेदारीलाई कसरी थप गहिरो बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।