‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड एभरेष्टलाई

Share News

एभरेष्ट बैंक लिमिटेडले यस वर्षको ‘बेष्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड जितेको छ । न्यू बिजनेश एज लिमिटेडको आयोजनामा अघिल्लो बिहीवार सम्पन्न ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’ कार्यक्रममा बैंकलाई सम्मान गरिएको हो । 

पञ्जाब नेशनल बैंकको २० प्रतिशत शेयर साझेदारीमा सन् १९९४ मा स्थापना भएको बैंकले हाल १३ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकले एबीबीएस सिस्टमबाट देशैभरिका स्थानबाट ग्राहकमैत्री सेवा प्रवाह गर्दै आएको छ भने नेपालभर १३१ ओटा शाखाहरू, १६७ ओटा एटीएम बुथहरू, र ३२ ओटा राजस्व संकलन र चारओटा विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । यसअघि सन् २०१३, २०१८ र २०१९ मा पनि न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्‌मा ‘बेष्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड जित्न सफल भएको बैंक फाइनान्सियल टाइम्स लन्डनले प्रकाशन गर्ने ‘दी बैंकर’ जर्नलको ‘बैंक अफ दी इयर–२००६’ लगायत राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । 

चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको यसै अवधिको तुलनामा नाफा ३२ प्रतिशतले वृद्धि भएको छ । चालू आवको चैतसम्ममा बैंकले २ खर्ब ६६ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १६ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । १२ दशमलव ६७ प्रतिशत पूँजीकोष अनुपात रहेको बैंकको खराब कर्जा अनुपात शून्य दशमलव ६४ प्रतिशत मात्र छ । प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा रहेको बैंकको पूँजीमा प्रतिफल १५ दशमलव ८२ प्रतिशत रहेको बैंकको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।