नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी)को मोडलका रूपमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशनले ६ दशकदेखि नेपालमा सहज र सुपथ मूल्यमा खाद्य तथा दैनिक उपभोग्य वस्तु विक्री गरेर मुलुकको आपूर्ति प्रणालीमा उल्लेख्य सहयोग पुर्याइरहेको छ ।
यसले सार्वजनिक संस्थानहरूकै इतिहासमा नुन जस्तो महत्त्वपूर्ण वस्तुको सहज पहुँच बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको छ । साल्ट ट्रेडिङ नेपालमा पीपीपी मोडलमा खडा भएको पहिलो संस्था हो । यसमा सरकारको वाणिज्य विभागको ११ दशमलव ५९ प्रतिशत र तत्कालीन नेशनल ट्रेडिङ कर्पोरेशन लिमिटेडको ९ प्रतिशत शेयर छ ।
आयोडिनयुक्त नून देशभर सहज बनाउन र हरेक वर्ष हुने अभाव एवं कालोबजारी रोक्न पीपीपी मोडलमा साल्ट ट्रेडिङको स्थापना भएको थियो । साल्ट ट्रेडिङ बन्नुअघि सरकारले विभिन्न क्षेत्र र मात्रा तोकेर विभिन्न व्यक्तिलाई नुन आयातको अनुमति दिँदै आएको पाइन्छ । साल्ट ट्रेडिङको स्थापनापछि पनि निजीक्षेत्रलाई नुन विक्री गर्न दिने प्रयास भएको थियो । त्यस्तो प्रयासस्वरूप नुन उद्योग नै स्थापना भएर आपूर्ति शुरू भए पनि पछि सरकारले साल्ट ट्रेडिङबाहेक अरुलाई नुन आयात गर्न नदिने नीति लियो । उक्त नीतिविरुद्ध एउटा नुन उद्योगले हालेको मुद्दा सर्वोच्च अदालतले २०६१ सालमा खारेज गरिदिएको थियो । तत्कालीन समयमा जनतालाई सहज रूपमा नुन उपलब्ध गराउन स्थापना गरिएको कर्पोरेशनले पछिल्ला दिनमा व्यापारमा विविधीकरण गर्दै नुनसँगै अन्य उत्पादनका लागि पनि लगानी गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।