काठमाडौँ । प्रमुख राजनीतिक दलबीच सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’का सम्बन्धमा उठेका प्रश्न र विवादित विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ ।
सभामुख देवराज घिमिरे निवासमा आज प्रमुख ५ राजनीतिक दलका प्रमुख सचेतक र सचेतकबीच भएको छलफलबाट ७ सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
समितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट २/२ तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १/१ जना सांसद रहनेछन् । समितिलाई गठन भएको २१ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश हुनेछ ।
यही असार २३ गते कार्यव्यवस्था परामर्श समितिबाट समितिमा रहने सांसदको नाम टुङ्ग्याएर प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने निर्णय भएको जानकारी उनले दिए ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिबाट निजामती विधेयकमा २ वर्षका लागि कुलिङ पिरियड राख्ने सहमति भएकामा सभाबाट पारित भइसकेपछि सोसम्बन्धी व्यवस्था फरक ढङ्गले प्रस्तुत भएको भन्ने विषयमा छानबिनका लागि समिति गठन गर्न लागिएको हो । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।