नेपाल एसबिआई बैंकले ७ प्रतिशत ब्याजदरको ऋणपत्र असार ३० गतेदेखि निष्कासन गर्ने

Share News

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले असार ३० गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीे १० वर्षे अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर रहेको ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थामा विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ ।

यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् । निष्कासन मिति छिटोमा साउन १ गतेसम्म तोकिएको छ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन १२ गतेसम्म लम्बिनेछ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन समेत आवेदनका लागि प्रयोग गर्न सकिनेछ ।

ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल ए रेटिङ्ग प्रदान गरेको छ । यो ऋणपत्र बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरुले ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी प्राप्त गर्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।