असार २९ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने बुङ्गल हाइड्रो

Share News

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरिने कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशतले हुने २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । त्यसमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार ८२४ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गर्न लागिएको हो ।

यसपछि बाँकी रहने २० लाख ७५ हजार कित्ता आईपीओमध्ये १० प्रतिशतले हुने २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्न लागिएको हो ।

आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको शेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्र अर्थात् सुदूरपश्चिम प्रदेशको बझाङ्ग जिल्लास्थित बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पीपलकोटा गाविस वडा नं.४, ५ र ७ र साविक कफल्सेरी गाविस वडा नम्बर १० का बासिन्दाहरू) मा जारी हुनेछ ।

बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्र अर्थात् बझाङ्ग जिल्लाको बुङ्गल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरूका लागि जारी गर्न लागिएको हो ।

दुवैतर्फको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ ।

आयोजना प्रभावित स्थानीयमा छिटोमा साउन ११ गतेसम्म निष्कासनमा रहने यो आईपीओ सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन २६ गतेसम्म निष्कासन लम्बिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन ११ गतेभित्र आवेदन दिनुपर्ने छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीयले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१, कृषि विकास बैंक, बुङ्गल नगरपालिका, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले शेयर खरीद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपालभरका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयर अनलाइनमार्फत आवेदन पेश गर्न सक्नेछन् ।  

यो आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले बझाङ्ग जिल्लामा १० दशमलव ७ मेगावाट क्षमताको माथिल्लो सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

उक्त आयोजनाको कुल निर्माण लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ छ भने प्रतिमेगावाट निर्माण लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ छ ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।