काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलबीच मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा छलफल भएको छ ।
सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा उनीहरूबीच छलफल भएको हो ।
आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४ औं बैठकको पूर्वसन्ध्या तथा नेपाल राष्ट्र बैंकको आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गरिरहेको सन्दर्भमा उक्त छलफल भएको हो ।
छलफल कार्यक्रममा आयोगका उपाध्यक्ष अधिकारीले विद्यमान कार्य पद्धति र आर्थिक मोडेलका बारेमा बहस गर्ने बेला आएको बताए । उनले सम्पन्न हुन २० देखि २५ वर्षसम्म लाग्ने कतिपय गौरवका आयोजनाहरूलाई २ वर्षभित्रै बनाउन सकिने धारणा राखे । अहिले सही समय र पर्याप्त स्रोत भएकाले राष्ट्रिय गौरवका आयोजनाहरूलाई पूरा गरेर देशलाई धेरै अगाडि बढाउन सकिने उनको दाबी छ ।
उनले विकास मोडललाई एक अर्कामा जोड्नसमेत आवश्यक रहेको बताए । साथै उनले प्रत्यक्ष आन्तरिक लगानी कम प्रयोग गरिएको भन्दै अबका दिनमा यसलाई प्राथमिकता दिनसमेत राष्ट्र बैंकलाई सुझाव दिए ।
छलफलमा गभर्नर पौडेलले अनुत्पादक क्षेत्रमा लगानीभन्दा पनि दिगो आर्थिक वृद्धि हासिल गर्न सकिने उत्पादनशील क्षेत्रमा लगानी हुनुपर्ने बताए ।
उनले राम्रो आर्थिक चलायमान गरिरहेको देश ग्रे लिष्टमा पर्नु दुर्भाग्य भएको बताए । त्यसबाट बाहिर निस्कन राष्ट्र बैंकले पनि आफ्नो तर्फबाट मेहनत गरिरहेको उनको भनाइ छ ।
छलफलमा योजना आयोगका सदस्यहरूले लघुवित्त र सहकारीहरूलाई सुधार गरेर चलायमान बनाउन पर्ने सुझाव दिएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।