बैंक तथा वित्तीय संस्थाहरूबाट करीब रु ५६ खर्ब कर्जा प्रवाह

अर्थ समिति बैठकको फाइल तस्वीर ।

Share News

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले १९ लाख ६० हजार जनालाई करीब रु ५६ खर्ब कर्जा प्रवाह गरेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा उक्त जानकारी दिएका हुन् । 

उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले करिब रु ७० खर्ब निक्षेप परिचालन गरेका छन् । राष्ट्र बैंकले छुट्याएको अनिवार्य रुपमा कर्जा प्रवाह उत्पादनमूलक तीनओटा क्षेत्रमध्ये कृषिमा २०८४ सम्ममा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने उनले बताए । उनका अनुसार अहिले कृषि क्षेत्रमा कर्जा प्रवाह ११ प्रतिशतभन्दा बढी भएको छ । 

समितिमा उनले अर्को उत्पादनमूलक क्षेत्र ऊर्जामा १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको अनिवार्य व्यवस्थाअनुसार ५६ खर्बको १० प्रतिशत कर्जा २०८४ सालसम्म गर्नुपर्ने बताए । उनले ऊर्जा क्षेत्रमा अहिलेसम्म करिब ७ प्रतिशतको हाराहारीमा कर्जा प्रवाह भएको जानकारी दिए ।

बैंकहरूले अनिवार्य लगानी गर्नुपर्ने उत्पादनशील साना तथा घरेलु मझौला क्षेत्र रहेको र विशेषगरी रोजगारी आयआर्जन, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धनलगायतमा उक्त क्षेत्रले ठूलो राहत दिइरहेको निर्देशक पौडेलले बताए । यो क्षेत्रमा बैंकहरूले १५ प्रतिशत अनिवार्य कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएकोमा यो क्षेत्रमा पछिल्लो समय कर्जाप्रवाह कम भएकाले २०८४ सम्म १५ प्रतिशत पुर्याउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको उनले बताए । निर्देशक पौडेलले किसानहरूलाई दिने सहुलियतपूर्ण कर्जा प्रवाहमा सरकारले ब्याज अनुदान दिने व्यवस्था गरेको र करीब १ लाख किसान र महिला उद्यमीलाई सो कर्जाअन्तर्गत करीब रु १०० अर्ब कर्जा प्रवाह भएको बताए । उनले उक्त कर्जाको ब्याज अनुदान राष्ट्र बैंकले दिइरहेको जानकारी दिए । 

उनले अहिले देशभरका ७५३ स्थानीय तहमा वाणिज्य बैंकका एउटा शाखा पुगेको जानकारी पनि दिए । बैंक तथा वित्तीय संस्थाहरूले साढे ५ करोडभन्दा बढी निक्षेप खाताबाट करीब रु ७० खर्ब परिचालन भएको पनि उनले बताए । उनले देशभर क‚ ख‚ ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका ११ हजारभन्दा बढी शाखाहरू रहेको बताए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।