काठमाडौं । अघिल्ला ६ कारोबार दिन निरन्तर बढेको नेप्से परिसूचक आज (सोमवार) भने घटेको छ । यो दिन शून्य दशमलव ८२ प्रतिशत अर्थात् २२ दशमलव ३५ अंकले नेप्से परिसूचक घटेको हो ।
यस दिन २ हजार ७१८ दशमलव १० विन्दुमा पुगेको नेप्से २ हजार ६८० दशमलव ४५ विन्दुमा झरेको थियो । अन्तिममा नेप्से २ हजार ६८४ दशमलव शून्य १ विन्दुमा बन्द भएको हो ।
यो दिन ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ । माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको शेयर मूल्य सर्वाधिक ६ दशमलव ५६ प्रतिशत बढ्दा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
माथिल्लो मैलुङ खोला जलविद्युतको शेयर मूल्य प्रतिकित्ता ३७ रुपैयाँ ६४ पैसाले बढेर अन्तिम मूल्य ६११ रुपैयाँ ७१ पैसा कायम भएको हो ।
त्यस्तै राप्ती हाइड्रोको शेयर मूल्य भने प्रतिकित्ता ४३ रुपैयाँ १० पैसाले घटेर अन्तिम मूल्य ३८७ रुपैयाँ ९० पैसा कायम भएको छ ।
यस दिनको कारोबारलाई लिएर बनेको मैनबत्ती विश्लेषणमा सानो टुप्पी र पुच्छर भएको रातो मैनबत्ती बनेको छ । यसले आगामी दिनमा पनि बजार बढ्ने सम्भावना कम रहेको संकेत गर्छ ।
यो दिन बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । आइतवार ९ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको २ करोड ७१ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा सोमवार ८ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको १ करोड ९४ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबारमा यस दिन पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ८० करोड ७० लाख रुपैयाँभन्दा बढीको ६ लाख ११ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो ।
सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता शून्य दशमलव ९७ प्रतिशत बढेर अन्तिम मूल्य १ हजार ३२२ रुपैयाँ २७ पैसा कायम भएको हो ।
सोमवारको कारोबारमा होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव ६१ प्रतिशत र म्युचु्अल फण्डको शून्य दशमलव शून्य ७ प्रतिशत बढेको छ ।
यीबाहेक बाँकी समूहको परिसूचक भने यो दिन घटेको हो । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ३ दशमलव ७६ प्रतिशत घटेको छ ।
सोमवार कुल बजार पूँजीकरण ४५ खर्बभन्दा तल झरेको छ । अघिल्लो कारोबार दिन ४५ खर्ब ९ अर्ब १९ करोड ३६ लाख रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण सोमवार ४३ खर्ब ७१ अर्ब ९४ करोड ८४ लाख रुपैयाँ कायम भएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।