काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गते मंगलवारदेखि थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरी बाँडफाँट गरेको हो । यीबाहेक पनि कम्पनीले कर्मचारीहरूका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ४६ हजार ६२५ कित्ता आईपीओ सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गर्दा छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन परको थियो ।
सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आउने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यो आईपीओ निष्कासन अवधि छिटोमा असार २७ गतेसम्म तोकिएको छ । सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन ६ गतेसम्म निष्कासन लम्बिनेछ । सर्वसाधारणमा आईपीओ जारी हुँदा मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थालाई हेर्दा छिटो अवधिभित्र मात्र कम्पनीको आईपीओ निष्कासनमा रहने अनुमान लगाउन सकिन्छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिनेछ । साथै मेरो शेयर अनलाइनसमेत आवेदनका लागि खुला रहनेछ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बि माइनस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको परिचय
२०६७ साल भदौ ३ गते प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको यो कम्पनी २०७४ साल मंसिर २२ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भएको थियो । हाल कम्पनीमा ३५९ जना संस्थापक शेयरधनीहरु रहेका छन् । कम्पनीका संस्थापक शेयरधनीका रुपमा बैंक तथा वित्तीय , शैक्षिक, व्यापार व्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि काम गरेका व्यक्तिहरु रहेका छन् । यस कम्पनीले कोशी प्रदेश, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र ओखलढुङगा जिल्लाको खिजिदेम्बा गाउँपालिका स्थित बुकु कापटी खोलाको पानी उपयोग गरी ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । निर्माणको अन्तिम चरणमा रहेको यस आयोजनाको कुल अनुमानित लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ रहेको छ । प्रति मेगावाट लागत भने २४ करोड ७७ लाख ७ हजार ३७६ हुने अनुमान कम्पनीको छ । कम्पनीको रजिष्टर्ड कार्यालय गौरीघाट, काठमाडौंमा रहेको छ भने जलविद्युत उत्पादन केन्द्र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र ओखलढुङगा जिल्लाको खिजिदेम्बा गाउँपालिकामा रहेको छ ।
पूँजी संरचना
३७ करोड ३० लाख रुपैयाँ अधिकृत पूँजी रहेको यस कम्पनीको जारी पूँजी पनि सोही रकम बराबर रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी भने २६ करोड ११ लाख रुपैयाँ छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३७ करोड ३० लाख रुपैयाँ कायम हुनेछ । हाल संस्थापक तर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीको सर्वसाधारणमा कर्मचारी समेत ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । कम्पनीले आईपीओवापत् प्राप्त पूँजी बैंकबाट अयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानीका लागि उपयोग गर्ने जानकारी दिएको छ ।
वित्तीय अवस्था
यो कम्पनी सञ्चित नोक्सानीमै रहेको छ । गत आर्थिक वर्ष ०८०/८१ को वास्तविक वित्तीय विवरण अनुसार कम्पनी २१ लाख ५९ हजार सञ्चित नोक्सानीमा रहेको हो । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी २१ लाख ५० हजार सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षभित्र कम्पनीले सञ्चित नोक्सानी सुधार्दै ४९ लाख ५१ हजार सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको वास्तविक वित्तीय विवरण अनुसार २१ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९९ रुपैयाँ १७ पैसा छ ।
सञ्चालक समिति
यस कम्पनीमा पाँच सदस्यीय सञ्चालक समिति रहेको छ । ध्रुवलाल पाण्डे अध्यक्ष रहेको कम्पनीमा दिपक तिवारी प्रबन्धक सञ्चालक रहेका छन् । त्यस्तै सञ्चालकहरुमा किशोर दत्त बराल, गोपाल प्रसाद दाहाल र सरिता हुमागाई छन् । अध्यक्ष पाण्डेले पिएचडी गरेका छन् भने त्रिभुवन विश्वविद्यालय केन्द्रिय व्यवस्था विभाग, किर्तिपुरमा २०५५ साल भदौ १ गतेदेखि हालसम्म प्राध्यापकको रुपमा कार्यरत छन् । उनि त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा लेखासमितिमा २०७० साल जेठ १० गतेदेखि २०७३ साल भदौ २५ गतेसम्म सदस्य रहेर काम गरेका थिए । त्रिभुवन विश्वविद्यालय किर्तिपुरको केन्द्रिय व्यवस्थापन विभागमा उपनिर्देशकका रुपमा अध्यक्ष पाण्डेले दुई वर्षभन्दा बढी काम गरेको अनुभव छ । उनले नबिल बैंकमा मानव संसाधन विशेषज्ञको रुपमा समेत तीन वर्षभन्दा बढी काम गरेका थिए ।
प्रबन्ध सञ्चालक दिपक तिवारीले स्नातक गरेका छन् भने साविक आरम्भ माइक्रोफाइनान्समा २०७२ साल वैशाख २७ गतेदेखि २०७७ साल जेठ २७ गतेसमम अध्यक्ष पदमा रहेर काम गरेका थिए । सञ्चालक किशोर दत्त बरालले एमए गरेका छन् भने भद्रकालि बहुमुखी क्याम्पस, पोखरामा क्याम्पस प्रमुखको समेत जिम्मेवारी सम्हालेको अनुभव छ । उनले उक्त क्याम्पसमा प्राध्यापकको रुपमा समेत काम गरेका थिए । त्यस्तै सञ्चालक गोपाल प्रसाद दाहालले स्नातक गरेका छन् भने जिएस मल्टी सप्लायर्समा प्रबन्ध सञ्चालकका रुपमा समेत कार्यरत छन् । उनले देहेनथी ग्रुपमा लेखा प्रमुखको रुपमा समेत काम गरेको अनुभव छ । सञ्चालक सरिता हुमागाईले पनि स्नातक गरेकी छिन् । उनले नोवेल इन्टरनेशनल प्रालिमा लेखापालको रुपमा काम गरेको अनुभव छ भने नेपाल क्यानभास सप्लायर्समा प्रशासन प्रमुख र विशाल ग्रुपमा लेखा प्रमुखको जिम्मेवारी समेत सम्हालेकी थिइन ।
पहिलो कारोबारका लागि पाउने मूल्य कति ?
धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि मात्र कम्पनीको शेयर कारोबार गर्न सकिनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनमा प्रि–स्पेशल ओपनिङ सेसनमा कारोबार भए मात्र नियमित सेसनमा कारोबार सुरु हुनेछ । कम्पनीको शेयरको पहिलो कारोबार मूल्य बजार सञ्चालकले तय गर्नेछ । हाल नेपालमा सञ्चालनमा रहेको एकमात्र धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबार मूल्य तोक्ने गरेको छ । हालको व्यवस्था बमोजिम कुनै पनि कम्पनीको आईपीओ सूचीकृतपछि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो कारोबारका लागि तोक्ने गरिन्छ । यस आधारमा ९९ रुपैयाँ १७ पैसा रहेको यस कम्पनीको पहिलो कारोबार मूल्य न्यूनतम प्रतिकित्ता ९९ रुपैयाँ १७ पैसादेखि अधिकतम २९७ रुपैयाँ ५१ पैसासम्मको मूल्यरेञ्ज नेप्सेले तोक्नेछ । पहिलो कारोबारपछिको मूल्य भने बजारमा लगानीकर्ताको माग र आपूर्तिका आधारमा निर्धारण हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।