काठमाडौं । महिला आर्थिक पत्रकारहरुका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमवार महिला आर्थिक पत्रकार संघ (फेजा) ले नेपाल बीमा प्राधिकरणको सहयोगमा बीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले आर्थिक पत्रकारका लागि बीमा विषय महत्वपूर्ण बन्दै गएकाले उनिहरुको क्षमता बढाउनुपर्ने आवश्यकता औल्याउदै यो कार्यक्रमको आयोजना गरिएको बताए ।
धेरै जसो सतही समाचार आउने हुँदा भोलीका दिनमा बीमाका महत्वपूर्ण विषयलाई समेत बाहिर ल्याउन महिला पत्रकारहरुले भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । सञ्चार माध्यमहरुमा आउने समाचारहरुलाई लिएर बीमा क्षेत्रका काम गर्ने व्यक्तिहरुले समेत आफ्नो धारणा बनाउने गरेकाले अध्ययनपछि मात्र सत्यतथ्य समाचार वाहिर ल्याउनुपर्ने उनको भनाई छ । प्राधिकरणले महिला आर्थिक पत्रकारहरुलाई बीमाका विषयमा बुझाउने दायित्व बोध गर्दै आगामी दिनमा पनि प्राथमिकताका साथ विभिन्न कार्यक्रमको आयोजना गरिने बताए ।
फेजाकी अध्यक्ष शर्मिला ठकुरीले यस कार्यक्रमबाट बीमा विषयमा समाचार लेखिरहेका महिला पत्रकारहरुको क्षमता अभिबृद्धि हुने बताइन । समग्र बीमा क्षेत्रका विषय उठान गर्न र यस क्षेत्रको समस्या तथा चुनौति पहिचान गर्न यो प्रशिक्षण कार्यक्रमले सहयोग गर्ने भनाई उनको छ । ठकुरीले आगामी दिनमा महिला आर्थिक पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि प्राधिकरणले निरन्तर सहकार्य गर्नेे विश्वास व्यक्त गरिन ।
२५ जना महिला पत्रकारहरु सहभागी प्रशिक्षण कार्यक्रमको सहजीकरण प्राधिकरणका उपनिर्देशकहरु केशव दाहाल, राम कोँजु, सन्तोष कार्की र निर्मला मल्लले गरेका थिए । उपनिर्देशक श्रेष्ठले जीवन र निर्जीवन बीमा व्यवसायका लागि तयार गरिने बीमालेखका निर्माण प्रक्रियाका सम्बन्धमा प्रष्ट पारेका थिए ।
त्यस्तै उपनिर्देशक कोँजुले जीवन तथा निर्जीवन बीमालेख र दाबी भुक्तानीका विषयमा थप जानकारी दिए । उनले बीमालेख जारी गर्ने कम्पनीनै बीमा गर्न पछि परेको अवस्थालाई समेत उल्लेख गरे । बीमा लगानी नभएर सुरक्षा रहेको समेत कोँजुले बताए ।
अर्का उपनिर्देशक कार्कीले एनएफआरएसको विषयमा जानकारी दिएका थिए । उनले बीमा सम्झौताको लेखाप्रणालीलाई एकरुपता कायम गर्न एनएफआरएस लागू गरिएको बताए । नेपालभित्र र अन्तराष्ट्रिय स्तरमा बीमा कम्पनीहरुको वित्तीय विवरणको तुलनात्मकता सुधार गर्न एनएफआरएसले आवश्यक रहेको उनको भनाई छ ।
उपनिर्देशक मल्लले रिक्स वेस क्यापिटलको सम्बन्धमा जानकारी दिईन । उनले बीमा कम्पनीहरुमा रिक्स वेस क्यापिटल चरणबद्ध रुपमा कसरी लागू भइरहेको छ भन्ने विषयमा प्रस्तुती दिएकी थिइन । कार्यक्रमको सञ्चालन भने फेजाकी महासचिव एजिला उप्रेतिले गरेकी थिइन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।