काठमाडौं । निर्माण, म्यानुफ्याक्चरिङ र खनिज क्षेत्रमा सुधार आएको कारण चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्रमा सुधार भएको अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ ।
अघिल्लो आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासमा यी तीनओटै क्षेत्रको वृद्धिदर नकारात्मक थियो । अहिले तीनओटै क्षेत्रमा सुधार आउँदा समग्र अर्थतन्त्रको वृद्धिदर तेस्रो त्रैमासमा ४ दशमलव ८ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार सार्वजनिक गरेको पछिल्लो त्रैमासिक राष्ट्रिय लेखा अनुमानमा उल्लेख छ ।
बजारमा माग नभएका कारण निर्माण, म्यानुफ्याक्चरिङ र खनिज क्षेत्र केही वर्षदेखि सुस्ताइरहेको सरकारी र निजीक्षेत्रका प्रतिवेदनले देखाएका छन् । यी क्षेत्रको वृद्धिदर गत सालयता क्रमशः सुधार हुँदै आएको तथ्यांक कार्यालयको प्रतिवेदनमा उल्लेख छ । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमा औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण उत्पादनमूलक उद्योग (म्यानुफ्याक्चरिङ) क्षेत्रको वृद्धि ६ दशमलव २ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।
यी तीन क्षेत्रलगायत विद्युत् उत्पादन तथा वितरण र वित्तीय तथा बीमा क्षेत्रमा आएको सुधारले पनि सुधारोन्मुख आर्थिक वृद्धिमा योगदान गरेको प्रतिवेदनमा उल्लेख छ । उद्योगधन्दाबाट कर्जाको माग नहुँदा बैंक, वित्तीय क्षेत्र पनि केही वर्षदेखि सुस्ताएको देखिन्छ । यसको असर अर्थतन्त्रमा पर्दै आएको छ ।
त्रैमासिक वृद्धिदरको आधारमा हेर्दा १८ ओटै आर्थिक क्षेत्रमा धनात्मक वृद्धि भएको अनुमान गरिएको छ । जसमा विद्युत् उत्पादन तथा वितरण क्षेत्रमा सबैभन्दा बढी १२ दशमलव ५ प्रतिशतको वृद्धि भएको अनुमान छ । त्यसपछि निर्माण क्षेत्रमा ६ दशमलव ९ प्रतिशत, खानी तथा खनिज उत्खनन ६ दशमवल ७ प्रतिशत, वित्तीय तथा बीमा ६ दशमलव ७ प्रतिशत, सूचना तथा सञ्चार ६ दशमलव ६ प्रतिशत र यातायात तथा भण्डारण ६ दशमलव ३ प्रतिशतले वृद्धि भएको प्रक्षेपण गरिएको छ । खासगरी यस अवधिमा शिक्षाक्षेत्र, पानी तथा फोहोरा व्यवस्थापन, आवास तथा भोजन क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेकाले अर्थतन्त्रको वृद्धिदर सामान्य रहन गएको अनुमान रहेको छ ।
अर्थतन्त्रमा सर्वाधिक योगदान गर्ने कृषिक्षेत्रको वृद्धिदर ३ दशमलव ६ प्रतिशत भएको अनुमान छ । हिउँदे बाली, तरकारी र केही नगदे बालीको उत्पादनमा भएको वृद्धिले यसमा सकारात्मक प्रभाव पारेको तथ्यांक कार्यालयले बताएको छ । त्यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्र पनि ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको अनुमान छ । कृषि तथा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन र आयातमा सुधारले वृद्धि भएको हुन सक्ने अनुमान छ ।
मौसमी प्रभाव समायोजन गरिएको तथ्यांकअनुसार भने चालू आवको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर शून्य दशमलव ६ प्रतिशत मात्र भएको अनुमान छ । यसरी गरिएको अनुमानमा १८ क्षेत्रमध्ये १५ क्षेत्रमा वृद्धि भए तापनि तीन क्षेत्रमा ऋणात्मक वृद्धि देखिएको अनुमान छ ।
यातायात तथा भण्डारण क्षेत्रमा ३ दशमलव ३ प्रतिशत, वित्तीय तथा बीमाक्षेत्रमा १ दशमलव ६ प्रतिशत र आवास तथा भोजन क्षेत्रमा शून्य दशमलव ८ प्रतिशतको ऋणात्मक वृद्धि रहेको अनुमान छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।