काठमाडौं । गत जेठ मसान्तसम्ममा देशको कुल विदेशी विनिमय सञ्चिति साढे २५ खर्ब नाघेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव)को ११ महीनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार गत जेठ मसान्तसम्म कुल सञ्चिति रु. २५ खर्ब ६९ अर्ब छ, जुन अघिल्लो आवको असार मसान्तको तुलनामा २५.९ प्रतिशतले वृद्धि भएको हो । २०८१ असार मसान्तमा कुल सञ्चिति रु. २० खर्ब ४१ अर्ब रहेको थियो ।
चालू आवको ११ महीनामा अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २२.२ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड डलर रहेको उक्त सञ्चिति गत जेठ मसान्तमा १८ अर्ब ६५ करोड डलर पुगेको छ ।
उक्त सञ्चितिले १७.६ महीनाको वस्तु आयात र १४.७ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकमा रहेको सञ्चिति २३ प्रतिशतले बढेर रु. २२ खर्ब ७४ अर्ब पुगेको छ, जुन अघिल्लो आवमा रु. १८ खर्ब ४८ अर्ब थियो । त्यस्तै, बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक)सँग रहेको सञ्चिति ५३.२ प्रतिशतले बढेर रु. २ खर्ब ९४ अर्ब ९२ करोड पुगेको छ ।
२०८२ जेठ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।