काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले रसुवामा आएको बाढी तथा पहिरोका कारण केरुङ–रसुवागढीमार्फत हुने अटोमोबाइल आयात प्रणालीमा असर पुगेको जनाएको छ ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएपछि रसुवागढी नाकाबाट हुने अटोमोबाइल आयातमा असर पर्ने देखिएको एशोसिएशनको भनाइ छ ।
एशोसिएशनका अध्यक्ष करण चौधरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीले भन्सार परिसरमा रहेका निर्माणाधीन सुख्खा बन्दरगाहसहित पार्किङ्गमा रहेका कन्टेनरहरू समेत बगाएको छ ।
रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान बाढी आएको हो । बाढीले उत्तरगया गापा–१ मैलुङस्थित गल्छी बेत्रावती–स्याफ्रुबेंसी सडकखण्डअन्तर्गत त्रिशूली नदीमा रहेको ‘बेलीब्रिज’ बगाएको छ ।
यस्तै, त्रिशूली थ्रिए जलविद्युत् आयोजनाको बाँधमा पनि क्षति पुर्याएको छ । रसुवागढी हाइड्रोपावरको बाँधमा पनि क्षति पुगेको बताइएको छ ।
बाढीका कारण नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् ।
एशोसिएशनले बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रहसमेत गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।