नेप्से स्थिर, ६ अर्ब ५७ करोडमा खुम्चियो कारोबार

Share News

काठमाडौं । नेप्से परिसूचक मंगलवार स्थिर बनेको छ । सोमवार २२ दशमलव ३५ अंकले घटेको नेप्से आइतवार पनि स्थिर बनेको थियो ।

मंगलवार २ हजार ६९० दशमलव १३ विन्दुसम्म पुगेको नेप्से २ हजार ६६२ दशमलव ५९ विन्दुसम्म झरेको थियो । अन्तिममा नेप्से परिसूचक शून्य दशमलव १४ अंक घटेर २ हजार ६८३ दशमलव ८६ विन्दुमा बन्द भएको हो ।

यस दिनको कारोबारलाई लिएर डोजी आकारको हरियो मैनबत्ती बनेको छ । यो आकृतिले बजार अन्योलको अवस्थामा रहेको संकेत गर्छ । 

यस दिन १३३ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने ११५ कम्पनीको धितोपत्र मूल्य घटेको छ ।

बुटवल पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ८ दशमलव २१ प्रतिशत बढेको छ । प्रतिकित्ता ६३ रुपैयाँ ४२ पैसाले बढेर बुटवल पावरको शेयर मूल्य प्रतिकित्ता ६३ रुपैयाँ ४२ पैसा कायम भएको हो ।

बाढीका कारण क्षति भएको समाचार बाहिरिएसँगै रसुवागढी हाइड्रोको शेयर मूल्य सर्वाधिक ५ दशमलव शून्य ८ प्रतिशत घटेको छ । प्रतिकित्ता १८ रुपैयाँ ७६ पैसाले घटेर रसुवागढी हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ३५० रुपैयाँ ६५ पैसा कायम भएको हो ।

बजार स्थिर बन्दा कुल बजार पूँजीकरण २४ करोड २७ लाख रुपैयाँले घटेको छ । सोमवार ४४ खर्ब ७१ अर्ब ९४ करोड ८४ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण मंगलवार ४४ खर्ब ७१ अर्ब ७० करोड ५७ लाख रुपैयाँ कायम भएको हो ।

यस दिन कारोबार रकम ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी मात्र भएको छ । उक्त रकम बराबरको १ करोड ५० लाख २७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।

सोमवार भने ८ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको १ करोड ९४ लाख १५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।

कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले नै कायम गरेको छ । पछिल्लो कारोबार दिन यस कम्पनीको सर्वाधिक रकमको कारोबार हुँदै आएकोमा मंगलवार ५१ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

यो दिन भने कम्पनीको शेयर मूल्य शून्य दशमलव ९४ प्रतिशत अर्थात् प्रतिकित्ता १२ रुपैयाँ ४८ पैसाले घटेर अन्तिम मूल्य १ हजार ३०९ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

सोमवार सर्वाधिक गुमाएको वित्त समूहले मंगलवार भने सर्वाधिक कमाएको छ । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव २५ प्रतिशत बढेको छ । अन्य समूहको परिसूचक भने सर्वाधिक शून्य दशमलव ७७ प्रतिशत घटेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।