आईटी क्वीज, सोमवार, ९ असार २०७१

Share News

अमेरिकन स्याटेलाइट (भू–उपग्रह) टीभी च्यानल सीएनएनको पूर्णरूप के हो ?
सीएनएनको पूर्णरूप केबल न्यूज नेटवर्क हो । यसको स्वामित्व टाइम वार्नरअन्तर्गतको टर्नर ब्रोडकाष्टिङ सिस्टमको अधीनमा रहेको छ । चौबीसै घण्टा समाचार प्रसारण गर्ने यो केबल च्यानलको स्थापना सन् १९८० मा टेड टर्नरले गरेका हुन् । स्थापनासँगै चौबीसै घण्टा समाचारमात्र प्रसारण गर्ने यो एकमात्र अमेरिकी च्यानलसमेत बन्यो ।

अनलाइन सामाजिक सञ्जाल तथा माइक्रो ब्लगिङ सेवा प्रदायक ‘ट्वीटर आईएनसी’को स्थापना कहिले भएको हो ?
सन् २००६, मार्च २१ । अनलाइन सामाजिक सञ्जाल तथा माइक्रो ब्लगिङ सेवा प्रदायकका रूपमा रहेको ट्वीटरमार्फत दर्ता भएका प्रयोगकर्ताले १ सय ४० अक्षरसम्मका सन्देश प्रेषित गर्न सक्छन् । तर, दर्ता नभएका प्रयोगकर्ताले भने आफ्ना सन्देश प्रेषित गर्न पाउँदैनन् । तर, प्रसारण गरिएका अन्यका सन्देश भने पढ्न सक्ने सुविधा यसमा उपलब्ध छ । प्रेषित यी सन्देश तथा जानकारीलाई ‘ट्वीट्स’ भनिन्छ । यो कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिक कोष्टोला हुन् । त्यसैगरी इभान विलियम्स, नोआ ग्लास, ज्याक डोर्से र विज स्टोन यसका संस्थापकहरू हुन् । (विकिपेडिया)

स्मार्टफोन प्रयोगकर्तामाझ सन्देश पठाउन सघाउने निकै लोकप्रिय ‘ह्वाट्सएप म्यासेञ्जर’को स्थापना कहिले भएको थियो ?
याहूका पूर्व कर्मचारीसमेत रहेका ब्रायन आक्टन र जान कोमले संयुक्त रूपमा सन् २००९ मा ह्वाट्सएप आईएनसीको स्थापना गरेका थिए । दुवैजना अमेरिकी नागरिक हुन् । ह्वाट्सएप म्यासेञ्जरको माध्यमबाट सन्देशका साथै तस्वीर, भिडियो तथा अडियो (आवाज) आदानप्रदान गर्न सकिन्छ । यो एप गूगल एण्ड्रोइड, माइक्रोसफ्ट विण्डोज फोन ओएस, ब्ल्याकबेरी ओएस, एप्पल आईओएसलगायत ग्याजेटमा प्रयोग गर्न सकिन्छ ।

इण्टरनेटको प्रारम्भिक रूप वा जन्मदाताका रूपमा अर्पानेटलाई लिइन्छ । अर्पानेटको पूर्णरूप के हो ?
‘एडभान्ष्ड रिसर्च प्रोजेक्ट्स एजेन्सी नेटवर्क (एआरपीए–नेट)’ । वाइट डी आइसेनोवरले अमेरिकाको प्राविधिक विकासमा सुधार ल्याउने उद्देश्यले यसको विकास गरेका हुन् । सन् १९६९ मा पहिलो अर्पानेट नेटवर्क सञ्जाल सार्वजनिक गरिएको हो ।

ग्राफिकल इण्टरफेससहितको विश्वकै पहिलो ब्राउजर कहिले सार्वजनिक गरिएको थियो ?
मोजाइक, ग्राफिकल इण्टरफेससहितको यो ब्राउजर सन् १९९३ मा सार्वजनिक गरिएको थियो । यससँगै इण्टरनेटको लोकप्रियता अप्रत्याशित रूपमा बढ्न थालेको मानिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।